भालेहरू !

मिर्मिरे भई सक्यो
बासेन सिउर ढलेका
हाम्रो देशका भालेहरू !!
घरमा बेतिथिले
भकारी भरेर
यो सरकार हामी सँगै
न्यायालय छ भन्छ !!
न्यायादिश आफै नियुक्ति गरी
आफ्नै पक्षमा फैसला होस भन्छ !
नङगरा नभएका भालेहरू !!
चल्लालाई चारो
आफैँ खोज्नु भन्छ
मन परेको गुँड
आफैँ रोज्नु भन्छ
सिँउर ढालेर
घरको धुरीमा बसी
बास्न बिर्सिन्छ
हाम्रो आदर्शवादी भाले।
मिर्मिरे भइसक्यो
बासेन सिउर ढलेको
हाम्रो देशको भाले !!
पोथीहरू कोर कोराई सके
भ्रष्ट्राचारको दाना
ज्यु नारन गरेर
छिमेकीको स्वाद चाख्नलाई !!
पोथी कोर कोराई रहन्छन्
आँखा तरेर बस्छ
खुराक नपुगेर हो कि
पल्लो खोरको पोथी सँग
मन पल्किएर हो कि
रनभुल्ल परेको छ
सिँउर ढालेर बसेको
हाम्रो संसदीय भाले !!
मिर्मिरे भई सक्यो
बासेन सिँउर ढलेको
हाम्रो देशको भाले !!
पोथीहरू छटपटाई सके
छिमेकीको स्वाद चाख्नलाई !!
भाले बास्दा
उज्यालो हुँदै छ
आस हुन्थ्यो
भुईखुट्टे जनताको
निद्रा खुल्थ्यो !!
डल्लो परि कुम्भकर्ण झैँ
सुतिरहेछन् परजीवी
जनता पनि !!
भालेको स्वर सुक्दा
टोल टोल, चोक चोकमा
देशका सत्ताका स्यालहरू
डाँडा पारि, खोलापारिका
सिनु खाएर
राष्ट्रियता को राँगमा
देश लुटाईरहेछन !!
भाले नलगाइएका
आयातित चिल्लाहरू
’बा’का नाता खोजिरहेछन !!
बार्दली ’बा’ नसलका
बंशसहरु !!
तर पनि
मिर्मिरे भई सक्यो
बासेन सिँउर ढलेको
हाम्रो देशको भाले !!
जोखना हेरेर बसेको छ
सिँउर ढलेको भाले
एकपल्ट
घरको धुरीमा बसेर
तामझामले बास्ने !!
दुई चार प्वाँख
झरे झर्छ तर
पखेटा फिँजाएर
पोथी जस्तै जनताको
निद्रा बिच्काएर
बास्दै छ सिँउर ढलेको
हाम्रो देशको भाले
न्यायालयलाई तर्साएर !!
चरेर खान जाँगर मारिसक्यो
न्यायालयले पनि !!
कसरी तड्गरिएला खै ?
न्याय गर्न बिर्सिएर
ओथारो बसेका पोथीहरूले
कसरी आशा जगाउलान्
भुईँ खुट्टे जनतालाई !!
न्यायालयको भाले पनि
बेसुरमा बासी,
निद्रा भगाएपछि
कसरी आशा जगाउला खै ?
भुईखुट्टे जनताको ?
मिर्मिरे भई सक्यो
पोथी कोर कोराई सके
तर पनि
बासेन सिँउर ढलेको
हाम्रो संसद्को भाले पनि !!
साइत, जोखाना हेर्दै
न्यायालय हेरेर बास्न खोजिरहेछ
घरको धुरीमा चढी
एकचोटी बासेर बिसर्जन खोजिरहेछ
सिँउर ढलेको
सत्ताको भाले पनि !!
चतुर स्याल सँग मितेरी लाउन
खोजिरहेको छ !!
सिँउर ढलेको सत्ता दलको
भाले पनि !!
त्यसैले होला आजकल
मिर्मिरेको पहरदारी
बेला बखत रुन्चे स्वरमा
साँझ परेपछि
समाजवादी पोथी खोजी
क्रान्तिकारी जातको भाले पनि
सिँउर लुकाएर बासिरहेछ
सिँउर ढलेका
हाम्रा भालेहरू
चार दिशा तिर बासिरहेछन्
कुन दिशा तिर
बसेर बास्ने
आफैँमा रनभुल्ल परिरहेछ !!
कार्यपालिका र न्यायालयको
सम्बन्धमा
चतुर स्याल रजाइँ गरिरहेछ
राजनीतिमा स्वार्थ महँगो परिरहेछ !!
फ्याउराहरूले
देशको रक्षा गरिरहेछ
सिंह र बाघहरू
भ्रष्ट्राचारको सिनु खाएर
र्याल छोडिरहेछन्
बिपना सत्ता वरिपरि
रहे पनि सपनामा
आफू जेल देखिरहेछन !!
- राजेन्द्र जमरकट्टेल
जापान
प्रतिक्रिया