मंगलबार, वैशाख ९, २०८२

राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीलाई उत्कृष्ठ बैंक सेवा पुरस्कार प्रदान

नेपालखोज २०८० वैशाख २५ गते १५:३३

काठमाडौं । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको ५८ औँ वार्षिकोत्सव अवसरमा २०७९ माघ १० गते घोषणा गरिएका आ.व. २०७७/०७८ र २०७८/०७९ मा उत्कृष्ट कार्य सम्पादन गर्ने बैङ्कका शाखा कार्यालयहरू तथा कर्मचारीहरूलाई एक समारोहका बिच बैङ्क सञ्चालक समितिका अध्यक्ष डा.बलराम पाठकले पुरस्कार वितरण गरेको बैङ्कले जानकारी दिएको छ ।

कार्यक्रममा सर्वोत्कृष्ट कार्य सम्पादन गरे बापत सर्वोत्कृष्ट बैङ्क पुरस्कार आ.व. २०७८/०७९ को मानव संशोधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरे र आ.व. २०७७/०७८ को ब्रान्च अपरेसन विभागका विभागीय प्रमुख सरोज बस्नेतलाई जनही नगद ५० हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यसै गरी उत्कृष्ट कार्य सम्पादन गरे बापत आ.व. २०७८/०७९ मा अन्य ३३ जना र आ.व. २०७७/०७८ मा अन्य ३३ जना कर्मचारीलाई उत्कृष्ट बैङ्क सेवा पुरस्कार जनही नगद २० हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

सो अवसरमा शाखा कार्यालयहरू मध्ये सर्वप्रथम हुने आ.व. २०७८/०७९ मा शाखा कार्यालय विराटनगर र आ.व. २०७७/०७८ शाखा कार्यालय सुर्यविनायकलाई प्रति शाखा नगद ५० हजार सहित प्रमाणपत्र प्रदान गरियो । त्यसै गरी अन्य उत्कृष्ट कार्य सम्पादन गर्ने आ.व. २०७८/०७९ मा १७ वटा शाखा र आ.व. २०७७/०७८ मा अन्य १७ वटा शाखा कार्यालयका प्रबन्धकहरूलाई जनही नगद १० हजार देखि ३० हजार सम्म र प्रमाणपत्र प्रदान गरियो ।

साथै, कार्यक्रममा कर्मचारीहरूलाई वरिष्ठ बैंकर्स अनिल केशरी शाहबाट ट्रान्सफरमर लिडरसिप विषयमा प्रशिक्षण समेत प्रदान गरिएको थियो । सो कार्यक्रममा बैङ्क सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकले उत्कृष्ट कर्मचारी तथा शाखा कार्यालयका प्रवन्धकहरुलाई पुरस्कार प्रदान गर्नुहुँदै बैंकिङ्ग क्षेत्रमा नयाँ नयाँ प्रविधि र सोचको विकास भइरहेको सन्दर्भमा कर्मचारीहरूले दक्षतापूर्णरुपले कार्य गर्नुपर्ने बताए ।

बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैङ्कले लामो समयदेखि उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने गरेकाले कार्यसम्पादनमा यसको उपलब्धि देखिएको बताए ।

कार्यक्रममा बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृतहरू देवेन्द्ररमण खनाल र सरस्वती अधिकारी, उपकार्यकारी अधिकृतहरू विमल डंगोल, पवन रेग्मी र दुर्गा कुमारी कँडेल, रा.वा. बैङ्क कर्मचारी सङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष बद्रिप्रसाद तिमिल्सिना, नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ,रावा बैङ्कका अध्यक्ष इश्वरबहादुर सिंह, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, रावा बैङ्कका उपाध्यक्ष जितेन्द्र राई लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो । ब्रान्च अपरेसन विभागका विभागीय प्रमुख आनन्द सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए ।

बैङ्कको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २७१ वटा शाखा कार्यालय, ५२ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग, क्युआर कोड सेवा, पस सेवा, क्रेडिट कार्ड, डेविट कार्ड, कनेक्ट आईपिएस, स्मार्ट क्युआर टेलर (बिना चेक रकम झिक्न सकिने), इन्टरनेट बैङ्किङ, परिष्कृत रूपको मोबाइल बैंकिङ्ग तथा बिना इन्टरनेट चल्ने युएसएसडी मोबाइल बैंकिङ्गका सेवाहरू समेत सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया