‘द अनब्रेकेबल : अगस्त्य’ दुई भागमा बन्ने

काठमाडौं । नेपाली चलचित्रसमेत दुई भागमा बन्ने भएको छ । बलिउड र हलिउडले यस्तो शैलीमा बनाएका चलचित्रले सफलता पाएपछि नेपालमा सौरभ चौधरीको निर्देशनमा बन्न लागेको चलचित्र ‘द अनब्रेकेबल : अगस्त्य’ दुई भागमा तयार गरिने भएको छ ।
निर्देशक चौधरीले दुवै भागको कथालाई तयार गरेर छायाङ्कनको तयारी गरिएको जानकारी दिए । ‘हिन्दू धर्मका सप्तऋषिमध्येका अगस्त्य ऋषिको नामबाट जुराइएको शीर्षकमै रहेर कथालाई तयार गरेको छु । दुई भागमा तयार गर्ने योजनासहित सुरु गर्दैछौँ’, निर्देशक चौधरीले भने ।
उनले कथा लेखनकै क्रममा एक भागमा नसकिने भएपछि दुई भागलाई नै तयार गरिने योजना बनेको जानकारी दिए । यद्यपि अहिले दोस्रो भागको केही दृश्य मात्र खिच्ने उनको योजना छ ।
निर्देशक चौधरीले भने, ‘दुई भागमा मात्र कथा सकिने छ । भारतको गोरखपुरबाट यसको छायाङ्कन प्रारम्भ गर्दैछौँ ।’ भारतको गोरखपुर र वनारसमा छायाङ्कन सकिएपछि नेपालमा काठमाडौँ र नवलपरासीमा छायाङ्कन हुने तालिका निर्धारण गरिएको छ ।
चलचित्रमा कलाकार सौगात मल्ल, मलिका महत, प्रमोद अग्रहरी, रवीन्द्र झा र विजय बरालको अभिनय रहनेछ ।
प्रतिक्रिया