यो शहरमा
तिर्थ श्रेष्ठ
२०८० वैशाख ३० गते ६:२९

जुलुसमा छन् बेरोजगारहरु, न जन्ती न मलामी यो शहरमा
आफ्नै घर जलाए मैले कत्ति अभाव छैन खरानी यो शहरमा ।
जल्नका लागि पालोको प्रतीक्षामा घाट घाटमा छन् लासहरु
रोजगारको लागि बिदेश जाने लाइनमा छ जवानी यो शहरमा ।
कहिले उँभो लाग्छ यो देश भन्दै ओरालो लाग्दैछन मानिसहरु
चलेको छ खुट्टा पछि फर्केका किचकन्याहरुको कहानी यो शहरमा ।
देवता हराएर मन्दिर रित्तिए पछि दिन पनि रात भएको छ
लासहरुको जुलुस चले पनि छाएको छ बिरानी यो शहरमा ।
अब पुरानो भइसक्यो भन्छ्न राक्षसहरुको कथा पनि
जता पाइला टेक्छु उतै भेटछु तिनकै निशानी यो शहरमा ।

तीर्थ श्रेष्ठ
तिर्थ श्रेष्ठ नेपालखाेजका स्तम्भकार हुन् ।
सम्बन्धित
प्रतिक्रिया