बुधबार, वैशाख १०, २०८२

‘बागमती गट ट्यालेन्ट सिङ्गिङ एन्ड डान्सिङ रियालिटी शो’ हुने

नेपालखोज २०८० वैशाख ३० गते १४:१४

काठमाडौं । बालबालिकामा रहेको प्रतिभालाई बाहिर ल्याउन गायन र नृत्यमा प्रतिस्पर्धात्मक रियालिटी शो ‘बागमती गट ट्यालेन्ट सिङ्गिङ एन्ड डान्सिङ रियालिटी शो’ हुने भएको छ ।

एएनपी मिडिया हाउसका अध्यक्ष लवबहादुर कार्कीले बागमती प्रदेशका गायन तथा नृत्य प्रतिभाका लागि प्रतियोगिताको आयोजना गर्न लागिएको जानकारी दिए ।

‘गाउँगाउँका अवसरविहीन गायन र नृत्य प्रतिभालाई मञ्च प्रदान गर्न यो रियालिटी शो आयोजना गर्दैछौँ, बालबालिकामा सानैदेखि फरक स्तरको पाइने प्रतिभालाई अवसर र मञ्च पाउनबाट वञ्चित गर्नु हुँदैन्’, अध्यक्ष कार्कीले भने, ‘बागमती प्रदेशका नौ स्थानमा पुगेर प्रतिभाको खोजी गर्नेछौँ, चरणबद्धरुपमा बाँकी छ प्रदेशका प्रतिभाका लागि पनि यसप्रकारको प्रतियोगिता गर्ने योजना छ ।’ आठदेखि १३ वर्षसम्मका बालबालिका सहभागी हुन पाउने शोको अडिसन आजदेखि सुरु हुँदैछ ।

धादिङ, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, मन्थली, सिन्धुली, भक्तपुर र काठमाडौंमा चरणबद्धरुपमा अडिसन गरेर छनोट भएका प्रतियोगीलाई काठमाडौंमा ल्याएर पुनः अडिसन गरिनेछ ।

त्यहाँबाट छनोट भएका बालबालिका शोमा सहभागी हुनेछन् । यस शोमा गायन र नृत्य विधामा प्रथम हुनेले एक लाख, द्वितीय हुनेले ३० हजार र तृतीय हुनेले २० हजार प्राप्त गर्नेछन् ।

यसको निर्णायकमा अभिनेत्रीद्वय मिथिला शर्मा र गौरी मल्ल, गायकगायिकाद्वय आनन्द कार्की र देविका वन्दना रहनुभएको छ । ‘नयाँ प्रतिभा पाउनेमा विश्वस्त छौँ, हामीले इच्छा राखेका बालबालिकाका लागि अवसर प्रदान गर्दैछौँ’, अभिनेत्री शर्माले भनिन् ।

प्रतिक्रिया