राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री आव्हान

काठमाडौ । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकको अनुसार जेठ दुई गते पाँच बर्षे अवधिको विकास ऋणपत्र २०८५ ‘ज’ (५ बर्षे) बिक्री गर्न लागिएको हो ।
ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था, गैर—बैंक वित्तीय संस्था, बिमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले मङ्गलवार अपराह्न तीन बजेसम्म बोलकबोल पेस गर्नुपर्ने छ । राष्ट्र बैंकका अनुसार निष्कासन मिति २०८० जेठ ३ गते तोकिएको ऋणपत्रको सावाँ भुक्तानी मिति २०८५ जेठ तीन गते तोकिएको छ ।
खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाइने छ । राष्ट्र बैंकका अनुसार खरिद गरिएको ऋणपत्रमा अर्धबार्षिकरुपमा व्याज भुक्तानी हुने र आर्जित ब्याजदरमा व्याज कर समेत लाग्ने छ ।
इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुनसक्ने राष्ट्र बैंकले जनाएको छ । बिक्री गरिने कुल ऋणपत्र मध्येमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात् आठ अर्ब ५० करोड र एक अर्ब ५० करोड छुट्ट्याइएको छ ।
अप्रतिस्पर्धी बोलवालाहरूलाई छुटाइएको रकमको लागि पूरा बोलप्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरूलाई बिक्री गरिने छ । अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्ट्याइएको रकम भन्दा बढी रकमको बोलप्राप्त हुन आएमा बोलवालाहरूलाई समानुपातिक रूपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने जानकारी समेत राष्ट्र बैंकले गरेको छ ।
खरिद गर्न पाउने सीमा घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कसम्म खरिद गर्न सकिने छ । राष्ट्र बैकका अनुसार ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रिया अन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रूपमा मात्र भाग लिन सक्नेछन् ।
यी बाहेकका वाणिज्य बैंक, विकास बैक र फाइनान्स कम्पनीहरूले भने अप्रतिस्पर्र्धीकोरुपमा भाग लिन पाउने छैनन् । प्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकम र कबोल गर्न चाहेको ब्याजदर (दशमलव पछाडि दुई अङ्कसम्म मात्र) उल्लेख गर्नु पर्नेछ भने अप्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकम मात्र उल्लेख गर्नु पर्नेछ ।

प्रतिक्रिया