सांसद सञ्जय गौतमको सत्याग्रह किन ?

काठमाडाैं । बर्दियाका क्षेत्र नं. १ का संघीय सांसद एवं पूर्वमन्त्री सञ्जय कुमार गौतम बर्दिया जिल्लाको सदरमुकाम गुलरिया नजिकै बबई नदीमा बन्दाबन्दै भत्किएको जब्दीघाटस्थित पुलमुनि आमरण अनसनमा बसेका छन् । अनसनमा सांसद गौतमले जब्दीघाटको पुल निर्माण गरिनुपर्ने माग राखेका छन् ।
यही वैशाख ३० गते जिल्ला प्रशासन कार्यालय बर्दियामार्फत प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष बर्दियाको विकास र यहाँका जनताका जनजीविकासँग सम्वन्धित विभिन्न १५ बुँदे माग राख्दै सांसद गौतम आमरण अनसन (सत्याग्रह) मा बस्नुभएको हो। तराइको चर्काे गर्मी, बालुवा सहितको तातो हावाको प्रवाह नगरी बगरमा बसिरहेका सांसद गौतमको स्वास्थ्य अवस्था दिन–प्रतिदिन कमजोर हुँदै गएको छ । वरिपरि सर्वसाधारण दैनिक रूपमा रिले अनसनमा बसेर उनलाई सघाइरहेका छन् ।
नागरिकको शुभेच्क्षा र आफ्नो निर्वाचन क्षेत्रका जनताप्रतिको उत्तरदायित्व बोधले सांसद गौतम उच्च मनोबलका साथ भन्छन्, ‘जनतासँग गरेको वाचा संसदमा बोलेर पूरा हुन नसकेपछि जनताकै बीचमा आएको छु, जनताकै साथमा रहेर सरकारलाई दबाब दिन्छु ।’ ‘हाम्रो बर्दिया बचाऔँ, समुन्नत बर्दिया बनाऔं’ भन्ने मूल नारासहित नदीकिनारमा आमरण अनसन बसेका गौतम समृद्ध बर्दिया बनाउने सुन्दर सपना बोकेर निरन्तर तेस्रोपटक निर्वाचित भएका सांसद छन् । जनताको प्रतिमूलक संस्था संघीय संसदमा जिल्लाको चौतर्फी विकासका निम्ति निरन्तर आवाज उठाउने गौतम विकास निर्माणलगायतका विषयलाई लिएर सडक, संसद्, विभिन्न मन्त्रालय तथा निकायमा निरन्तर खबरदारी गर्दा पनि सुनुवाइ नभएको दुखेसो पोख्छन् ।
‘संसद, सरकारका विभिन्न मन्त्रालय तथा निकाय, सार्वजनिक कार्यक्रममा निरन्तर बर्दियाको समस्याका बारेमा कुरा उठाउँदा पनि सरकारले सम्बोधन गरेन,’ उनी भन्छन्, ‘संसदमा बोल्दा र मन्त्रालयमा धाउँदा पनि जनताका समस्याको सुनुवाइ नभएपछि जनताकै साथमा सत्याग्रही संघर्षमा छु । ’ बर्दिया नेपालकै प्रमुख अन्न भण्डारका रूपमा परिचित छ । कर्णाली र बबईजस्ता मुख्य नदी यहाँकै भूमि भएर बग्दछन् । बर्दिया राष्ट्रिय निकुञ्ज पनि यहीँ छ । सांस्कृतिक, भाषिक र जातीय विविधताको संगम रहेको यो जिल्ला पर्यटकीय दृष्टिकोणले समेत उत्कृष्ट छ। तथापि अवसरको वितरणमा राज्यको समदृष्टि नपुग्दा बर्दिया नेपालकै पिछडिएको जिल्लाका रुपमा रहन अभिशप्त छ ।
लामो समयदेखि राज्यबाट विभेदको सिकार भएको जिल्लालाई विकासको मूलधारमा ल्याउने अभिप्रायका साथ राजनीतिमा लागेको सांसद गौतमको दाबी छ। ‘बर्दियाका पूर्वमा बाँके, पश्चिममा कैलाली र उत्तरमा सुर्खेत जस्ता जिल्ला छन्। आफू जिल्लाको विकास गर्न र जनताको मुहारमा मुस्कान छर्न जनप्रतिनिधि भएको तर राज्य बर्दियाका जनताका जनजीविकाका सवालमा मौन रहेको उनको भनाइ छ । पछिल्लो आमनिर्वाचनमा उम्मेदवार हुँदा पनि गौतमले बर्दियाका नागरिकसमक्ष समृद्ध बर्दियाको नारा दिएका थिए ।
आफूले जनसमक्ष दिएको वाचा पूरा गराउन भरमग्दुर प्रयास गरे तापनि सरकारले त्यसप्रति कुनै पहल नगरको हुँदा आमरण अनसन गर्न बाध्य भएको सांसद गौतमको दावी छ। २०७४ सालमा बर्दियामा आएको भीषण बाढीका कारण बबई नदीमा निर्मित भासियो । पुल भासिँदा बारबर्दिया नगरपालिका र पूर्व–पश्चिम राजमार्गसँग सदरमुकाम गुलरियाको आवागमन सम्पर्क अवरुद्ध छ । सो पुलले बाँधको काम गर्ने हुनाले बर्षामा नदीको प्रवाह बस्तीतिर सोझिने हुँदा नदी तटीय क्षेत्रका बासिन्दा असुरक्षित छन् ।
त्यसको तत्काल व्यवस्थापन गर्नुपर्ने र पुलको निर्माण अविलम्व सुचारु गर्नुपर्ने सांसद गौतमको माग छ। त्यसैगरी बर्दियामा रहेका कर्णाली, ओराही, आम्वासा, मानखोलालगायतका नदीको कटान नियन्त्रणका लागि तटबन्धनको व्यवस्था गर्नुपर्ने, बाढी पीडितलाई भूकम्प पीडितसरह राहत र अनुदान दिनुपर्ने, पूववर्ती सुशील कोइरालाको नेतृत्वको सरकारले गरेको निर्णयको कार्यान्वयन गरिनुपर्ने, निकुञ्ज क्षेत्र, मध्यवर्ती क्षेत्र तथा खाता जैविक मार्गलगायतका क्षेत्रमा जंगली जनावरबाट आम जनता असुरक्षित रहेकोले जनताको जिउधनको सुरक्षाको प्रबन्ध गरिनुपर्नेलगायतका माग छन् ।
राजापुर सिंचाइ परियोजनाको दोस्रो चरणको कार्यको थालनी गरिनुपर्ने, भूमिहीन सुकुम्वासीको समस्या हल गरिनुपर्ने, किसानरुलाई समयमै मल तथा बिउबिजन उपलव्ध गराई कृषि उपज बजारीकरणको व्यवस्था गरिनुपर्ने, बर्दियामा एक कृषि पोलिटेक्निक स्थापना गरिनुपर्ने, राष्ट्रिय गौरवको बबई सिंचाई आयोजना तीन वर्षमा पूरा हुने गरी बजेटको सुनिश्चितता गरिनुपर्नेजस्ता माग पनि सांसद गौतमले राख्नुभएको छ। जनताको प्रत्यक्ष जीवनसँग जोडिएका विषय संसदमा बोल्दा सरकारले नसुनेपछि जनताको बीचमा आएर गरेको संघर्षलाई यहाँका नागरिक समर्थन जनाएका छन् ।
सांसद गौतमको सत्याग्रहलाई लिएर जिल्लामा कार्यरत नेपाल पत्रकार महासंघ, बार एसोसिएसन, उद्योग वाणिज्य संघ, गैरसरकारी संस्था महासंघजस्ता नागरिक संस्था तथा जिल्लाका सर्वसाधारण नागरिकसमेतले ऐक्यबद्धता प्रकट गरेका छन् । नागरिकका समस्या संसदबाट सम्वोधन हुन नसकेपछि सडकमा आएको घटना आफैँमा नौलो र रोचक मानिएको छ। सम्भवतः आफ्ना नागरिकका सामु आफुले गरेको बाचा पूरा गराउन जनप्रतिनिधि आमरण अनसनमा बसेको यो पहिलो घटना हो । INS
प्रतिक्रिया