संसारमै प्रजातन्त्र खतरामा

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. केदारभक्त माथेमाले संसारमै प्रजातन्त्र खतरामा पर्न थालेको बताएका छन् । उनले म्यानमार र ट्युनिसियाले केही समयअघि प्रजातन्त्र गुमाएको बताए । अहिले पनि ५२ देशमा प्रजातन्त्र खतरामा रहेको प्रतिवेदन आफूले अध्ययन गरिरहेको उनले सुनाए ।
वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले लोकतान्त्रिक शासन व्यवस्थाको सूत्रपात भएको लामो समय बितिसक्दा पनि प्रजातान्त्रिक संस्कृति र संस्कारको विकास हुन नसकेको बताए । समाजका अध्यक्ष डा. केदारनरसिंह केसीले दलले गरेका गल्ती औँल्याउन नसके प्रजातान्त्रिक विचार समाजको सदस्य हुन नसक्ने बताए । समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेले राजनीतिक रिक्तता पूर्ति गर्न प्रजातान्त्रिक दल सक्षम हुनुपर्ने बताए । कार्यक्रममा लोकतान्त्रिक योद्धा सम्मान २०८० डा सुरेश मल्ललाई प्रदान गरियो । प्रथम राष्ट्रपति डा रामवरण यादवले उहाँलाई सम्मानपत्र, दोसल्ला र रु २५ हजार राशिसहित प्रदान गरे ।
प्रजातान्त्रिक आन्दोलनमा मल्लले पु¥याउनुभएको योगदानको कदर गर्दै समाजले सम्मान गरेको हो । सो अवसरमा मल्लले नगद राशि भने समाजका अध्यक्ष केसीलाई नै हस्तान्तरण गरे । सम्मानित व्यक्तित्व मल्लले देश आर्थिक, सामाजिक र प्रजातान्त्रिक सङ्कटमा पुगेको उल्लेख गर्दै मानिसको चरित्र ह्रास भएकाले यस्तो अवस्था आएको बताउनुभयो । समाजको लुम्बिनी प्रदेश, केन्द्रीय सदस्य मिलनचन्द्र खनाल, कास्की र चितवन जिल्ला शाखालाई पनि उत्कृष्ट काम गर्ने शाखा एवं सदस्यका रुपमा सम्मान गरिएको थियो ।
कार्यक्रममा समाजका पूर्व अध्यक्ष एवं वरिष्ठ अधिवक्ता हरिहर दाहाल, समाजका उपाध्यक्ष बिमला शाक्य, महासचिव गोकर्ण अर्याललगायतले हालसम्म भएका समाजका गतिविधिका बारेमा प्रकाश पारेका थिए । विसं २०५२ मा प्राध्यापक वासुदेवचन्द्र मल्लको सक्रियतामा समाजको स्थापना भएको हो ।
समाजमा प्रजातन्त्रवादी विचार राख्ने प्राध्यापक, पत्रकार, कानुन व्यवसायी, चिकित्सक, शिक्षकलगायत विभिन्न पेसा र व्यवसायमा संलग्न आवद्ध रहेका छन् । आज बेलुकीदेखि नै समाजको नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम प्रकाशन गरिने निर्वाचन समिति संयोजक डा मधुसुदन पुनले जानकारी दिए ।
प्रतिक्रिया