सोमबार, वैशाख ८, २०८२

एमालेद्वारा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग

नेपालखोज २०८० जेठ ३ गते २०:३२

काठमाडाैं । नेकपा (एमाले)ले कोसी प्रदेशमा पार्टीका नेतामाथि आक्रमण भइरहेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । एमाले प्रचार विभागका सचिव गगन विष्टले आज विज्ञप्ति जारी गरी कोसी प्रदेशमा एमाले नेतामाथि आक्रमण गर्नेलाई कारवाही माग गरे ।

उनका अनुसार आज इलामको माङसेवुङ गाउँपालिका आयोजित बैठकमा सहभागी हुने जाने क्रममा एमाले केन्द्रीय सदस्य राम राना चढेको गाडीमा सोही गाउँपालिकको वडा नं ३ घर्तीदोभान नजिककै ढुङ्गामुढा भएको थियो । प्रचार सचिव विष्टले एमाले कोशी प्रदेश संसदीय दलका उपनेता रानामाथि भएको घटनाको पार्टीले निन्दा र भत्र्सना गर्दै कोसी प्रदेशका विभिन्न जिल्लामा पहिचानका नाममा उच्छृङ्खल समूहले हिंसात्मक गतिविधि गरिरहेको र खासगरी एमालेका नेतामाथि निशाना बनाइरहेको घटनाले पार्टीलाई गम्भीर बनाएको बताए ।

‘संवैधानिक व्यवस्था, ऐन र कानूनी प्रक्रियाबाट प्रदेशसभाले कोसी प्रदेश नामकरण गर्न निर्णय गरेको र असहमत समूहले विरोधमा कोशी प्रदेशमा हिंसात्मक गतिविधि सञ्चालन गरिरहे पनि सरकारले त्यस्ता गतिविधि नियन्त्रण गर्न ध्यान दिएको छैन’, विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी घटनामा संलग्नलाई तुरुन्त पक्राउ गरी कानूनी कारबाही गर्न र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग जोडदार माग गर्छ ।’

प्रतिक्रिया