सौराहा हात्तीसँगै बसेर दोहोरी छायाङ्कन

काठमाडौं । नमस्ते नेपालले चितवनको सौराहा पुगेर हात्तीसँगै बसेर दोहोरी छायाङ्कन गरेको छ । सो कार्यले पृथ्वीका सबै प्राणी बराबर हुन् भन्ने सन्देश दिएको आयोजकले जनाएको छ ।
हात्तीलाई उखु खुवाएर कार्यक्रमको शुभारम्भ गरिएको थियो । कार्यक्रममा चितवनको रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटा लगायतका जनप्रतिनिधिहरू, समाजसेवी, व्यवसायीहरूको उपस्थिति रहेको थियो ।
नगर प्रमुख सापकोटाले सौराहा आवश्यक संरचना निर्माण गर्न नसक्दा आशातीत पर्यटक भित्राउन नसकिएको बताए । उनले नमस्ते नेपालको विश्वकै अग्लो स्थान काला पत्थरमा दोहोरी छायाङ्कन गर्ने लक्ष्यको सफलताको कामना गरे ।
नेपालको कला संस्कृति र गीतसङ्गीतलाई अन्तर्राष्ट्रिय स्तरमा समेत प्रचार प्रसार गरी नेपालको पर्यटनको विकास र विस्तारमा भुमिका खेल्ने लक्ष्यले सगरमाथाको काला पत्थरमा कार्यक्रम आयोजना गर्ने योजनास्वरुप पूर्वी चितवनको सौराहाबाट ‘हात्तीलाई माया गरौँ, हात्ती संरक्षण गरौँ’ भन्ने मुल नारासहित दोहोरी छायाङ्कन गरिएको ग्लोबल क्रियशन मिडिया प्रा.ली.ले जनाएको छ ।
आज विज्ञप्ति जारी गर्दै संयोजक शत्रुधन आले मगरले काला पत्थरमा दोहोरी छायाङ्कन गर्ने लक्ष्य प्राप्तिका लागि सौराहा कार्यक्रमलाई सहयोगीका रूपमा लिएको आयोजकले जनाएको छ । हात्तीसँग बसेर छायाङ्कन गरिएको दोहोरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी गरिएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया