सोमबार, वैशाख ८, २०८२

जसले आफ्नै रगत र मासु ख्वाए !

बाबुलाल भण्डारी २०८० जेठ ६ गते ५:१८

शाक्य मुनि बुद्धको जन्म कुनै आकश्मिक घटना थिएन । कैयौं पूर्वजन्मका अनगिन्ती मैत्री, करुणा र त्यागका संस्कारको सञ्चयले मात्र भगवान बुद्धका रुपमा लुम्बिनीमा उनको जन्म सम्भव भएको थियो । बुद्धको पूर्वजन्म बारे थुप्रै जातक कथाहरू छन् । बुद्ध बन्ने तयारीमा ठूलाठूला त्याग, तपस्या वा साधना गर्ने पूर्वजन्मका यस्ता साधकलाई बोधिसत्व भनिन्छ ।

आजभन्दा करिब ६ हजार वर्ष पहिले महासत्व नाम गरेका यस्तै एउटा मैत्री, करुणा र परोपकारमा विख्यात बोधिसत्व राजकुमार थिए । उनी जम्बु द्विपका एउटा प्रतापी राजा महारथ र रानी सत्यवतीका तीन राजकुमारमध्ये कान्छो थिए । ती तीनै जना राजकुमार एकदिन वन विहारका लागि निस्किए । वनमा तिनीहरूले भर्खरकी सुत्केरी बघिनी र त्यसका ५ वटा डमरू देखे । बघिनी लामो समय देखि खानाको अभावमा भोक र रोगले निकै गलित भै मरणासन्न अवस्थामा थिई र डमरुहरू आमाको दूध खान नपाएर इन्तु न चिन्तु थिए ।

त्यो दृश्य देखेर महासत्वमा करुणा जाग्यो । भोकले ग्रसित बघिनी मर्ने वा आफ्नै डमरुहरूलाई नै खाने सम्मको स्थिति देखेपछि राजकुमारले बघिनीका लागि वनमा आहारा खोजे तर केही पाउन सकेनन् । अन्तमा आफ्ना दाजुहरूसंग बुझ्दा बघिनीले आलो तातो रगत र मासु मात्र खाने कुरा बुझे । दुई दाजुसंग अगाडि बढिरहेका महासत्व केही भुलेको बहाना गरी एक्लै फर्केर आएर दाजुहरूको आँखा छल्दै बघिनीको नजिक पुगे अनि आफ्ना वस्त्र खोलेर बघिनीको आहारा बन्न तयार भै बसे । यता निकै कमजोर भएकी बघिनी उठ्न पनि सकिन । बघिनीको त्यो दुर्दशा देखेर उनले आफ्नै औँला काटेर आलो रगत बघिनीलाई चुसाए । यसरी बघिनीमा केहि शक्ति आएपछि उनले आफ्नै तिघ्राको मासु टुक्राटुक्रा पारी काटेर बघिनीलाई खुवाए । शरीरमा तागत आएपछि बल्ल बघिनीले उनलाई मारेर खाई । यसरी बघिनीको प्राणरक्षा गरी आफुले प्राण त्याग गरेको अदभुत घटना देख्दा आकाशबाट पुष्पवृष्टि भयो, पृथ्वी हल्लियो र स्वर्गमा समेत ठूलै हलचल भयो ।

महासत्वका दाजुहरू उनलाई खोज्दै आइपुग्दा उनका कपडा र हाडखोर मात्र बाँकी भेटेपछि उनीहरूलाई कान्छो राजकुमार बघिनीको आहार बनेको विश्वास भयो । उनीहरू अत्यन्त दुखी भए र तुरुन्तै दरबारमा राजारानीलाई खबर गरे । यस्तो खबर सुनेर पूरा दरबार शोकमा डुब्यो र रानी मुर्छित भइन् । राजा त्यहाँ पुग्दा कान्छा राजकुमार महासत्वको कङ्कालमात्र भेटेपछि त्यही अस्तु श्रीखण्ड जडित बाकसमा राखेर उक्त स्थानमा उनले चैत्य गुम्बा निर्माण गरी पूजा गरे । यसरी पूजा गर्दा चैत्यमा बुद्धरश्मि पैदा भई राजारानीलाई उनीहरूका कान्छा राजकुमार बुद्ध पुरुष भएको र अर्को जन्ममा सम्यक सम्बुद्ध अर्थात् भगवान बुद्धको नामले जन्म लिने कुराको आकाशवाणी भयो ।

यसरी मृत्युवरण गरेका राजकुमार साधारण नभएर बोधिसत्व भएको र दानपारमिता पूरा गर्ने क्रममा आफ्नो देहदान गरेका रहेछन भन्ने सबैलाई बोध भयो । अहिले त्यहाँ विशाल चैत्य, गुम्बा र विहार बनेका छन् र महासत्वले मासु काटेर खुवाइराखेको दृष्य अङ्कित मूर्ति सहित, हजारौँ माने र कलात्मक बुद्ध मूर्तिहरू पनि देख्न सकिन्छ । बौद्ध साहित्यको पुरानो ग्रन्थ ‘सुवर्ण प्रभास सूत्रं’को ‘व्याघ्री जातक कथा’मा बघिनीलाई आफ्नै शरीरको मासु खुवाएको यस्तै एउटा कथा भेटिन्छ र बोधिसत्व अवदान मालामा महासत्व राजकुमारको पनि उल्लेख पाइन्छ । फेरी जातक कथाहरू आफ्ना थुप्रै पूर्वजन्मका बारेमा स्वयं बुद्धले नै बताउनु भएका कथा हुनाले पनि यस घटनाको बौद्ध साहित्यमा धार्मिक आध्यात्मिक प्रामाणिकता छ । आफ्नो शरीर बघिनीका लागि यसरी दान गरेको ३५ सय वर्ष पछाडि लुम्बिनीमा उनै राजकुमार बोधिसत्व मायादेवीको कोखबाट जन्म लिई भगवान बुद्ध बन्नु भएको हो ।

बघिनीका तिनै ५ बच्चाहरु उहाँका प्रथम ५ शिष्य थिए र उनीहरूबाटै उपदेश दिन सुरु गरेर बुद्धले धर्मचक्र प्रवर्तन गर्नु भएको भएको भन्ने भनाइ पनि छ । ठूलो जन आस्था र श्रद्धा भएको नमोबुद्धमा शाक्यमुनि बुद्ध स्वयं कुनै समय भिक्षुगण सहित भ्रमण गरी नमोबुद्ध स्तूपको महत्व बारे सविस्तार व्याख्या समेत गर्नु भएको कुरामा त्यहाँका लामाहरू विश्वास गर्छन् । यसरी बुद्ध स्वयं आएर धर्म देशना गर्नु भएकोले यस धार्मिक स्थलको नाम नमोबुद्ध अर्थात “बुद्धलाई नमन” रहन गएको किम्बदन्ती छ, यद्यपि बुद्ध त्यहाँ आउनु भएको स्वतन्त्र पुष्टी गर्न भने भ एको छैन र यसमा थप अनुसन्धानको आवश्यकता देखिन्छ । एउटा ठूलो धार्मिक आस्थाको केन्द्र र भगवान गौतम बुद्धको पूर्वजन्मको जन्मस्थलको रुपमा चिनिने नमोबुद्ध नेपालको राजधानी काठमाडौंबाट पूर्व लगभग ४० किलोमिटरको दुरीमा काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका अन्तर्गत पर्छ ।

प्रतिक्रिया