मञ्चनमा नाटक त्रयम्

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित कौसी थिएटरमा आज जेठ १२ देखि नाटक ‘त्रयम्’ मञ्चन हुँदैछ । काठमाडौँका एउटा फ्ल्याट लिएर भाडामा बस्ने तीन युवतीको कथा समेटिएको नाटक ‘त्रयम्’ जेठ २८ गतेसम्म प्रदर्शनमा रहनेछ । एकअर्कासँग पटक्कै नमिल्ने स्वभावका तीन युवती नजिक हुन् नसके पनि सँगै बस्न बाध्य छन् ।
आफ्नो रुचि र स्वभावलाई मात्र प्राथमिकता दिने उनीहरूको जीवनमा घट्ने घटनाक्रमले एकअर्काप्रतिको बुझाइमा ल्याउने परिवर्तन नै नाटकको सार हो । यो नाटकले तीन युवतीको विगत कोट्याउँदै महिलाले दैनिक जीवनमा भोग्ने हिंसालाई रोचक ढङ्गले प्रस्तुत गर्नेछ । दिलीप रानाभाटको लेखन तथा निर्देशन रहेको नाटकमा सङ्गीता थापा, रक्षा थापा र पूर्णिमा आचार्यले शीर्ष भूमिका निर्वाह गर्नुभएको छ ।
‘लामो समयदेखि बोकिरहेको विषयले बल्ल मञ्चनको स्वरूप पाउँदैछ, नाटकमा उठिरहेका विषय मेरो नजिकका धेरै महिलाले भोगेका विषय हुन्, कतिले मलाई सुनाएका छन्, कतिले नभनी पनि मैले बुझेको छु, यो नाटकले तपाईंहरूको पनि मौनता तोड्न प्रेरित गर्नेछ’, निर्देशक रानाभाटले भने ।
प्रतिक्रिया