सोमबार, वैशाख ८, २०८२

सातामा छ अर्ब ९५ करोडको सेयर किनबेच

नेपालखोज २०८० जेठ १२ गते १०:५४

काठमाडौं । यो साता नेप्से १९ सय ५९ दशमलव १२ अंकमा कायम रहन सफल भएको छ । यसै गरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ७१ दशमलव ३१ अंकमा कायम रहन सफल भएको छ ।

कुल दुई सय ७३ वटा कम्पनीहरूको यो साता एक लाख ३३ हजार सात सय १४ पटकको कारोबारमा एक करोड ९२ लाख ५७ हजार चार सय ३५ कित्ता शेयर किनबेच भएका छन् । जसबाट कुल कारोबार रकम छ अर्ब ९५ करोड २२ लाख ३९ हजार चार सय २७ कायम भएको छ । यो कारोबार रकम गत साताको भन्दा दुई अर्बले बढी हो ।

गत साता भने दुई सय ६९ वटा कम्पनीहरूको एक लाख १९ हजार नौ सय ८९ पटकको कारोबारमा एक करोड ४१ लाख ९३ हजार एक सय ८८ कित्ता शेयर किनबेच हुुंदा कुल कारोबार रकम चार अर्ब ५९ करोड ८० लाख ४० हजार आठ सय तीन पुगेको थियो ।

यो साता नेप्से नियमित कारोबारको लागि चार कार्य दिन मात्र खुल्ला रहेकोमा चार दिन नै नेप्से लगातार बढेको थियो । पाँचौँ दिन भने काठमाडौं उपत्यकामा सार्वजनिक बिदा परेका कारण नेप्से बन्द रहेको थियो ।

कारोबार खुलेको मध्ये पहिलो दिन पाँच दशमलव ८८ अङ्कले बढेर १८ सय ८३ दशमलव २० अंकमा पुगेको नेप्से चौथो कारोबार दिन पनि १६ दशमलव ४९ अङ्कले बढेर १९ सय ५९ दशमलव १२ अंकमा पुग्न सफल भएको थियो । यी बाहेकका बाँकी दिनहरूमा पनि नेप्से बढेको थियो ।

यसै गरी पहिलो दिन शून्य दशमलव १४ अङ्कले बढेर तीन सय ५८ दशमलव ३३ अंकमा पुगेको सेन्सिटिभ इन्डेक्स चौथो दिन पनि तीन दशमलव ५८ अङ्कले बढेर तीन सय ७१ दशमलव ३१ अंकमा पुग्न सफल भएको थियो । यी बाहेकका बाँकी दिनहरूमा पनि सेन्सिटिभ इन्डेक्स लगातार बढेको थियो ।

यो साता शिवम सिमेन्ट, हिमालयन डिष्ट्रिलरी प्रालि, नबिल बैंक आदिको बढी रकम कारोबार भएका छन् भने कारोबार भएको सङ्ख्याको आधारमा शिवम सिमेन्ट, नबिल बैंक, एनआईसी एशिया बैंक आदि अगाडि परेका छन् । बजार पुँजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।

प्रतिक्रिया