आइतबार, वैशाख ७, २०८२

‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण

नेपालखोज २०८० जेठ २७ गते १७:०२

काठमाडौं । वाङ्मय शताब्दी पुरुष स्व सत्यमोहन जोशीको व्यक्तित्व, कृतित्व र योगदानको सङ्गालो ‘शब्द विम्बमा सत्यमोहन’ नामक कृति सार्वजनिक गरिएको छ ।

भूँडीपुराण प्रकाशनद्वारा आज यहाँ आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसालसहित लेखक एवं साहित्यकारले उक्त पुस्तक लोकार्पण गरेका हुन् ।

पत्रकार गोपीकृष्ण ढुङ्गानाद्वारा सम्पादित पुस्तकमा लेख, सम्पादकीय, अन्तर्वार्ता, परिशिष्टाङ, समाचार र कविता खण्डमा उहाँसम्बन्धी लेखक, साहित्यकार र पत्रकारका लेख समेटिएका छन् । पुस्तकमा जोशीका केही मुख्य कृति र तस्बिर पनि समावेश गरिएका छन् ।

कार्यक्रममा वरिष्ठ पत्रकार रिसालले विलक्षण प्रतिभाशाली जोशी नेपाली समाजले श्रद्धा र सम्मान गरेको अपवाद व्यक्तिका रुपमा रहेको बताए ।

पत्रकार श्रीओम रोदनले लवाइखुवाई र हिँडाइसहित सबैले सिक्नुपर्ने सादगी जीवनशैली व्यतित गर्नुभएका संस्कृतिविद् जोशी जीवित सङ्ग्रहालय र सम्पदाका रुपमा सबैको प्रेरक बन्न सफल भएको धारणा राखे ।

प्रा. डा. लेखप्रसाद निरौलाले इतिहास, संस्कृति, साहित्य र मानवताका दृष्टिकोणले जोशी नेपाली समाजमा शिखर पुरुषकारुपमा भएको बताए । समालोचक प्रा. डा. ज्ञानु पाण्डेले संस्कृतिविद् जोशीले साहित्य, कला, दर्शन, पुरातत्वका क्षेत्रमा पुर्‍याउनुभएको योगदानको विभिन्न पाटो र पक्षबाट विश्लेषण गरे ।

आठ खण्डमा विभाजित पुस्तकमा लेख र आलेख ३२, सम्पादकीय खण्डमा सात, तीन अन्तर्वार्ता, परिसिस्टाङ्क १७, समाचार १२ र कवितामा तीन सिर्जना समावेश छन् ।

चार सय आठ पृष्ठको उक्त कृतिको मूल्य पाँच सय ९० रहेको छ । संस्कृतिविद् जोशीको २०७९ असोज ३ गते एक सय तीन वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया