डिजिटल समाचार खपत र समाज

काठमाडाैं । गुगल न्यूज इनिसिएटिभले कान्तारद्वारा संचालित एउटा अनुसन्धानको नतिजा सार्वजनिक गरेको छ । यसले भारतमा मानिसहरूले अनलाइन समाचार सामग्री उपभोग गर्ने तरिकाहरूलाई सूचीबद्ध गरेकोछ ।
आफ्नै भाषाको समाचार पढ्ने वा हेर्ने रुचि
कान्तार र गुगलको रिपोर्ट अनुसार अनलाइन समाचार पढ्ने र हेर्ने १० मध्ये ७ जनाले आफ्नो क्षेत्रसँग सम्बन्धित समाचार जान्न बढी रुचि राखेको बताएका छन्। यो रिपोर्ट अनुसार भारतीय भाषाका इन्टरनेट प्रयोगकर्ताको संख्या ७२ करोडभन्दा बढी छ र ती मध्ये करिब ३७ करोड मानिस स्थानीय भाषामा समाचार पढ्छन् वा हेर्छन् । यसमध्ये १५ करोड सक्रिय प्रयोगकर्ता छन्।प्रतिवेदनले सहरी केन्द्रहरूमा इन्टरनेट प्रयोगकर्ताहरूको ३७ प्रतिशतको तुलनामा ग्रामीण भारत (६३ प्रतिशत वा २३८ मिलियन) मा समाचार उपभोगमा बढी रुचि पाइएको छ ।
इण्डिया ल्यागङवेजेस
अन्डरस्टान्डिङ इण्डियाज डिजीटल न्यूज कन्ज्युमर शिर्षकको यो रिपोर्ट अनुसार भारतीय भाषाहरूमा ५२ प्रतिशत वा ३७९ मिलियन इन्टरनेट प्रयोगकर्ताले विभिन्न समाचार एप/वेबसाइटहरू, सोशल मिडिया पोष्टहरू, म्यासेज, उट्युव आदि मार्फत अनलाइन समाचारहरूमा पहुँच राख्छन् ।
समाचारका लागि भिडियो पहिलो रोजाइ
अनलाइन समाचार प्रयोगकर्ताहरूले समाचार थाहा पाउन मनपराउने ढाँचा भिडियो हो। त्यसपछि टेक्स्ट र अडियोको पालो आउँछ। भिडियो स्ट्रिमिङ साइट युट्युब ९३ प्रतिशत रुचिका साथ अनलाइन समाचार हेर्नेहरुको सूचीको शीर्ष स्थानमा छ । त्यसपछि सामाजिक सञ्जाल ८८ प्रतिशत, च्याट एप ८२ प्रतिशत, सर्च इन्जिन ६१ प्रतिशत तथा समाचार प्रकाशकको वेबसाइट वा एपमा ४५ प्रतिशत मात्र रुचि छ ।
मनोरञ्जन, अपराध तथा हेडलाइनहरू अनलाइन समाचारहरूमा सबैभन्दा मनपराईने विषय हुन् । मानिसहरू स्वास्थ्य, प्रविधि र फेसनसँग सम्बन्धित समाचारहरू पनि पढ्न रुचाउँछन्। रिपोर्टको डाटाले देखाउँछ- भारतीय भाषाहरूमा समाचार उपभोक्ताहरूले अनलाइन समाचार प्राप्त गर्न औसत ५.०५ वटा डिजिटल प्लेटफर्म प्रयोग गर्छन्। प्रतिवेदन अनुसार सात मध्ये एक (१५ प्रतिशत) उपभोक्ता अनलाइन समाचारका लागि भुक्तानी गर्न तयार छन्।
कान्तारले भारतीय भाषाका डिजिटल समाचार उपभोक्ताहरूको समाचार उपभोग गर्ने बानी बुझ्न १६ वटा सहरमा ४,६०० भन्दा बढी व्यक्तिगत अन्तर्वार्ता तथा ६४ वटा गुणात्मक छलफल गरेको थियो । कान्तरले १४ राज्यका १५ वर्ष भन्दा माथिका व्यक्तिसँग कुराकानी गरेर यो प्रतिवेदन तयार पारेको हो ।
प्रतिक्रिया