भनिदिएकै छ हामीले
अर्जुन पराजुली
२०८० असार २ गते ७:५०

किसानलाई बेलैमा दिनुपर्छ मल
भनिदिएकै छ हामीले,
मल ल्याउने काम
पशुपतिनाथले गरुन् !
एक घर, एक धारा
भनिदिएकै छ हामीले!!!
धारा हाल्ने, पानी
खसाल्ने काम
पशुपतिनाथले गरून् !
गुणस्तर बढाउनुपर्छ
शिक्षाको भनिदिएकै छ हामीले,
पढाउने काम पशुपतिनाथले गरून् !
चुचुरोमा भ्युटावर
बनाइदिएकै छ हामीले,
तुइन विस्थापित गर्ने काम
पशुपतिनाथले गरून् !
गर्नुहुँदैन भ्रष्टाचार
भनिदिएकै छ हामीले
भ्रष्टाचारी समाउने
काम पशुपतिनाथले गरुन् !
दस वर्षमा दसहजार मेघावाट
बिजुली बेच्ने
भनिदिएकै छ हामीले
बिजुली निकाल्ने काम
पशुपतिनाथले गरुन् !
नेपालको नक्शामा चुच्चो
थपिदिएकै छ हामीले
जमीन फिर्ता ल्याउने
काम पशुपतिनाथले गरुन् !

अर्जुन पराजुली
अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।
सम्बन्धित
प्रतिक्रिया