बिहीबार, वैशाख ११, २०८२

के हो यक्ष प्रश्न ?

हरिबिनोद अधिकारी २०८० असार ३ गते ५:२६

के हो यक्ष प्रश्न ? हुन त जताततै गाह्रो प्रश्नलाई यक्ष प्रश्न भन्ने गरिएको सुनिन्छ।  पत्रकारितामा  पनि उत्तरदातालाई अप्ठ्यारो पार्ने कडा र र्‍याखर्‍याख्ती पार्ने प्रश्नहरूलाई यक्ष प्रश्न भनिएको छ। यक्ष प्रश्न त्यही हो त ? यो के कारणले र कसका कारणले त्यस्ता जीवन मरणका अनि कडा प्रश्नहरू सोधिएको पाइन्छ त श्रुति स्मृतिमा ? महाभारतको वन पर्वमा प्रसङ्ग आउँछ यक्षले युधिष्ठिरलाई सोधेका केही कालजयी प्रश्नहरू जुन प्रश्नहरूको उत्तर अहिले पनि आर्यावर्तमा मात्र नभएर विश्व साहित्यमा समेत चर्चित छ यक्ष प्रश्नका नाममा।

वनवासी महाराज युधिष्ठिरको १२ वर्षको वनवास समाप्त हुनै लागेको थियो र एक वर्ष गुप्त बास बस्ने तयारीमा थिए पञ्च पाण्डव तथा द्रौपदी। काम्यक वनमा जब द्रौपदीलाई राजा जयद्रथले अपहरण गर्ने प्रयास गरेपछि त्यहाँबाट पाण्डवहरू फेरि द्वैत वनमा नै फर्केका थिए।  त्यही समयमा एक जना ऋषिको यज्ञका लागि आगो बाल्न यन्त्रसहितको काठ एउटा बलियो मृगले सिङमा अड्काएर भागेछ। त्यसलाई खोजेर आफ्नो आगो पार्ने यन्त्र नभए भोलिदेखि नै यज्ञका लागि कसरी आगो पार्ने ? काठ घोटेर उत्पत्ति गराइएको शुद्ध अग्नि तयार गर्ने अरणी यन्त्र मृगबाट लिएर गएकोले ब्राह्मणले सहयोग मागेका थिए प्राप्तिका लागि।

ब्राह्मणको सामग्री फिर्ता लिनका लागि पाँचै भाइ मृगको खोजीमा हिँडे तर मृग कतै फेला परेन। मृगका पछि लाग्दा लाग्दा,  दौडँदा दौडँदा,  मृग पनि कतै हरायो तर थाकेका पाँचै दाजुभाइ थकाइ र तिर्खाले एक वृक्षमुनि बसेर पानीको खोजी गर्न थाले। पहिले नकुललाई पानी दिन पठाए तर उनी फर्केनन्,  सहदेव गए,  उनी पनि समयमा फर्केनन्,  अर्जुन र भीम पनि पानी लिन गए तर कोही पनि फर्केर नआएपछि युधिष्ठिर आफैँ पानी र भाइहरूको खोजीमा हिँडे।

शुद्ध जल भएको पोखरीछेउमा चारै जना भाइहरू मृतकजस्तै सुतेका थिए। युधिष्ठिर चारै  भाइहरूका क्षमता सम्झी सम्झी विलाप गर्न थाले,  यी महावीर योद्धाहरूलाई कसले मार्न सक्छ होला र ? युधिष्ठिरको विलाप गर्दै पानी खानका लागि जब पोखरीभित्र पसे,  अनि एउटा आवाज आयो,  तिमीले भनेका कुराहरू ठिकै हुन् तर राजा युधिष्ठिर यदि तिमीले पनि मेरा केही उत्तर नदिएर पानी खायौ भने तिमी पनि तिम्रा भाइहरूजस्तै गरी मृत्युको मुखमा पस्नेछौँ।

म बकुल्लो हुँ भन्दै एक छिनमा देखियो र भन्यो,  म यक्ष हुँ। मेरा केही जिज्ञासाहरू छन्,  जसले मेरा प्रश्नका उत्तर दिनेछ,  त्यसैले मेरो अधीनको पोखरीमा पानी खान पनि पाउने छ,  लैजान पनि पाउनेछ। यत्ति सुनेपछि रुखतिर युधिष्ठिरले हेरे,  यक्ष रुखको हाँगोमा बसेको थियो तर थियो अत्यन्त भयङ्कर। त्यति सुनेर युधिष्ठिरले यसो भाइहरूलाई हेरे अनि सोधे,  वास्तवमा तिमी को हौ? इन्द्र हौ कि,  वायु हौ कि या अन्य कुनै देवी देवताको छलीरुप हौ ? यक्षले सिधा रूपमा भन्न थाल्यो-म यक्ष हुँ,  मेरा प्रश्नका उत्तर दिनै पर्छ यदि पानी खाने भए……। तिम्रा भाइहरूले अटेर गरेर पानी खाएकाले मरेका हुन्।

अब भने युधिष्ठिरले अर्काको अधीनको पोखरीमा आफूले बलजफ्ती पानी नखाने,  नलाने बताए र भने-मैले कति पो चित्त बुझाउन सकुँला र,  तै पनि सोध यक्ष प्रश्न।

वास्तवमा त्यहाँ युधिष्ठिरको परीक्षा जस्तै थियो र एउटा धर्मप्रिय राजाको ज्ञानको दायराको जाँच पनि थियो।  फेरि एउटा यक्षले सोधेका प्रश्नहरूको जवाफ नदिनु पनि राजा युधिष्ठिरका लागि सुहाउने कुरा पनि थिएन।

पानीमा उभिएका राजाले यक्षका प्रश्नहरूका उत्तर दिन थाले। यक्षले सोध्यो-हे युधिष्ठिर,  सूर्यलाई कसले उदाउन लगाउँछ ? उसका चारैतिर कोको हिँड्छन् ? उसलाई कसले अस्ताउन लगाउँछ ? अनि सूर्य केमा प्रतिष्ठित छन् ?

युधिष्ठिरले भने-ब्रह्मले सूर्यको उदय गराउँछन्,  देवताहरू सूर्यका वरिपरि घुम्छन्,  धर्मले उसलाई अस्ताउँछन् र सूर्य सत्यमा प्रतिष्ठित छ।

यक्षले ब्राह्मण,  क्षत्री,  यज्ञ तथा देवता,  पितृसम्बन्धी प्रश्नहरू सोध्यो। त्यसमा पनि युधिष्ठिरका उत्तरहरू उसलाई चित्त बुझ्दा थिए भन्ने अनुमान गर्न सकिन्थ्यो।

यक्षले सोध्यो-कुन व्यक्ति जीवित भएर पनि मृतक जस्तै हुन्छ ?’

युधिष्ठिरले भने-जसले देवता,  अतिथि,  माता, पिता, सेवक र आत्माको सेवा गर्दैन,  त्यो जीवित भएर पनि मरेको जस्तै हो।’

यक्षले सोध्यो-पृथ्वीभन्दा पनि ठुलो को हो ? आकाशभन्दा पनि माथि को छ ? हावाभन्दा पनि छिटो दौडने के हो ? केले आगो नलाउँदा पनि  जिउँदै जलाउँछ ?’

युधिष्ठिरले भने-आमा पृथ्वीभन्दा पनि ठुलो हो। पिता आकाशभन्दा पनि माथि हो। मन हावाभन्दा पनि छिटो दौडन्छ र चिन्ताले विना आगो पनि डढाउँछ।’

प्रतिक्रिया