बिहीबार, वैशाख ११, २०८२

शासक सधैं दण्ड दिन उद्यत रहनुपर्छ- ऋषि कणिक

हरिविनोद अधिकारी २०८० असार ४ गते ५:२२

महाभारत कालका प्रख्यात ऋषि कणिकले  त्यतिबेला राजा वा अहिलेका सन्दर्भमा शासक र शासनका अनेकन गुणका बारेमा चर्चा गरेका छन् ।  ऋषि कणिकको भनाईमा ‘ऐश्वर्य चाहने राजाले ऐश्वर्य प्राप्त गर्नका लागि अवसर पर्दा शत्रुलाई पनि हात जोडोस्,  कसम खाओस्,  आश्वासन देओस्,  आवश्यक परे विश्वास दिलाउन खुट्टैमा ढोगोस् । उस्तै परेमा शत्रुको हितका लागि भनेर रोओस्,  आँसु खसालोस् र शत्रु रोएको देखेमा उसको आँसु पनि पुछोस् ।

जबसम्म शत्रु आफ्नो अनुकूल हुँदैन, उसलाई काँधमा बोकेर भने पनि खुसी पारोस् तर ऐश्वर्य प्राप्त हुन्छ, आफ्नो स्वार्थ पूरा हुन्छ,  काँधमा बोकेको घैँटो ढुङ्गामा बजारेर फुटाएझैँ शत्रुलाई समाप्त पारोस् ।  यी सबै चरित्र आधुनिक नेपालका कुनचाहिँ नेतामा छ ? कल्पना गर्नुहोस् र महाभारत कालको ज्ञान लिनुहोस्।  महाभारत जस्तो ठुलो महाकाव्य ज्ञानको खानी हो। भनाइ नै छ,  जुन कुरा महाभारत ग्रन्थमा छैन,  त्यो अन्यत्र कतै पाइँदैन। त्यसैले महाभारतलाई राजनीति,  धर्मनीति, कूटनीति,  इतिहास,  भूगोल, ज्योतिषी,  खगोलशास्त्र,  हतियारशास्त्र तथा मानवशास्त्रको विश्वकोश अर्थात् आधार ग्रन्थको रुपमा मानिन्छ। द्वापर युग र कली युगको सन्धि समयको इतिहास र सभ्यताको रुपमा यसलाई लिइन्छ।

विश्वप्रसिद्ध श्रीमद्‍भागवत्‌ गीताको प्रसङ्ग पनि महाभारत भित्रको भीष्म पर्वको एक त्यस्तो अंश हो जुनबेला अन्यौलग्रस्त विचलित र मोहवशीभूत अर्जुनलाई कर्तव्य पथमा फर्काउन महाभारत युद्धमा अर्जुनको सारथिको रुपमा रहनु भएका श्रीकृष्णले दिएको उपदेशका रुपमा मानिन्छ। गीतालाई पौरस्त्य दर्शनको आधारस्तम्भ मानिएको छ जसमा वेद,  उपनिषद् र पुराणका सबै तत्त्वहरू समावेश गरिएको छ भनिन्छ। महाभारतभित्र राज्यका प्रमुख व्यक्ति राजाका गुणहरूको व्याख्या गरिएको छ र राजाले गर्नुपर्ने कामको विवरण समेत स्पष्ट पारिएको छ। राजा या राज्यको प्रमुख व्यक्ति जसले पनि आफ्ना कामहरू कसरी गर्नुपर्छ भन्ने विषयमा कर्तव्याकर्तव्यको ज्ञान दिइएको पाइन्छ।

यस प्रसङ्गमा हस्तिनापुरका महाराज,  भारतवर्षका चक्रवर्ती महाराज धृतराष्ट्रले आफ्ना मन्त्री कणिकको कूटनीतिलाई सुनेर,  मनन गरेर कार्यान्वयन गर्दा हस्तिनापुरको राजनीतिले नयाँ कोल्टे फेरेको थियो र युगान्तकारी परिवर्तन भएको थियो। अर्थात् कणिकको राजनीतिक उपदेशका कारणले सिर्जित परिस्थितिले कौरव र पाण्डवमा आपसमा समझदारी बढ्नु भन्दा झन भयङ्कर युद्ध चर्कियो। तर महाभारतमा अर्का कणिक ऋषिको पनि प्रसङ्ग रहेछ शान्तिपर्वको अध्याय १४० मा जहाँ नयाँ महाराजको रुपमा स्थापित भएका युधिष्ठिरले शरशय्यामा इच्छित मृत्यु पर्खेर बसेका पितामह भीष्मसँग राजनीतिक उपदेश लिन जाँदा सौवरी नरेश शत्रुञ्जय र भारद्वाज कणिक ऋषिको वार्तालाप सुनाएको पाइन्छ ।

स्मरणीय छ, आफ्नो इच्छामरणका लागि मृत्यु पर्खेर बसेका भीष्म पितामहलाई स्मरण शक्ति र बोल्ने क्षमताको आशीर्वाद श्रीकृष्णले दिएका थिए र पितामह आफ्ना राज्यका पछिल्ला चक्रवर्ती युधिष्ठिरलाई राजाले गर्नुपर्ने कर्तव्यका बारेमा अनेक ऐतिहासिक उदाहरण दिँदै अर्का कणिक ऋषिको सिद्धान्तका आधारमा राजधर्मको ज्ञान दिएका थिए। प्रसङ्ग धेरै छन् तर अहिले यहाँ भारद्वाज कणिकको राज्यनीति र कूटनीतिको बारेमा जानकारी गराइएको छ । INS

प्रतिक्रिया