राष्ट्र बैंकले गर्याे १० अर्ब रुपैयाँको विकास ऋणपत्रको बिक्री आव्हान

काठमाडौं । नेपाल राष्ट्र बैकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकको अनुसार असार पाँच गते मङ्गलवार छ वर्षे अवधिको विकास ऋणपत्र २०८६ ‘ङ’ (६ वर्षे) बिक्री गर्न लागिएको हो ।
ऋणपत्र खरिदको लागि बैक तथा वित्तीय संस्था, गैर—बैक वित्तीय संस्था, बिमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले मङ्गलवार अपराह्न तीन बजेसम्म बोलकबोल पेस गर्नुपर्ने छ ।
राष्ट्र बैंकका अनुसार निष्कासन मिति २०८० असार छ गते तोकिएको ऋणपत्रको सावाँ भुक्तानी मिति २०८६ असार ६ गते तोकिएको छ । खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाइने छ । खरिद गरिएको ऋणपत्रमा अर्ध बार्षिकरुपमा व्याज भुक्तानी हुने र आर्जित ब्याजदरमा व्याज कर समेत लाग्ने छ ।
इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीको सहभागी हुनसक्ने राष्ट्र बैंकले जनाएको छ । बिक्री गरिने कुल ऋणपत्र मध्येमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात् आठ अर्ब ५० करोड र एक अर्ब ५० करोड छुट्ट्याइएको छ ।
अप्रतिस्पर्धी बोलवालाहरूलाई छुटाइएको रकमको लागि पूरा बोलप्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरूलाई बिक्री गरिने छ ।
अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्ट्याइएको रकम भन्दा बढी रकमको बोलप्राप्त हुन आएमा बोलवालाहरूलाई समानुपातिक रूपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने जानकारी समेत राष्ट्र बैंकले गरेको छ ।
खरिद गर्न पाउने सीमा घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म खरिद गर्न सकिने छ ।
राष्ट्र बैकका अनुसार ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रिया अन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रूपमा मात्र भाग लिन सक्नेछन् । यी बाहेकका वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भने अप्रतिस्पर्र्धीकोरुपमा भाग लिन पाउने छैनन् ।
प्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकम र कबोल गर्न चाहेको ब्याजदर (दशमलव पछाडि दुई अंकसम्म मात्र) उल्लेख गर्नु पर्नेछ भने अप्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकम मात्र उल्लेख गर्नु पर्नेछ ।

प्रतिक्रिया