श्री १००८ खप्तडबाबा

गीतामा भनिएको छ- ‘श्रद्धामयोऽयं पुरुषः यो यच्छूद्धः सः एव सः’ यसैले जस्तो हुने इच्छा छ, आफूलाई उस्तै नै मान । दुई र दुई मिलेर चार हुनु जति सत्य छ, उत्ति नै यो सिद्धान्त पनि सत्य छ, अनुभूत छ । हेर र अनुभव गर ।
मानसिक स्वतन्त्रता मनुष्यको सबभन्दा ठूलो जित हो । सदा यही ध्यान गर्नुपर्दछ कि मैले दुःखहरूलाई नष्ट गरिदिएँ , म स्वतन्त्र आत्मा हुँ । प्रातः काल एकान्तमा शरीरलाई स्थिर र मनलाई शान्त गरेर उपयुक्त भावनालाई मनमा बारम्बार धारणा गर र साथसाथै के कुराको निश्चय गर भने चुम्बकको समान इच्छाशक्तिलाई साध्नका लागि मैले दृढ संकल्प गरेको छु ।
यस अभ्यासलाई चाहे जुन समयमा पनि गर्न सक्छौ । जो भइराखेको छ , त्यसको वास्ता नगर , सोझो उभिएर गहिरो श्वास लेऊ र भित्र आफूमा महाशक्तिको भावना गर ।
सन्ध्याकाल वा रात्रिको अन्धकारमा आँखा चिम्लेर आफूभित्र नियाल र जे जे त्रुटिहरू तिमीभित्र छन् तिनलाई निकाल्ने प्रयत्न गर । जे कुरा तिमी चाहन्छौ त्यसको मनमा कल्पना गर । बारम्बार यस्तो चिन्तन गर्नाले मस्तिष्कमा तिनको ध्यान चिरस्थायी हुन जाने छ र जीवनमा भित्रभित्रै परिवर्तन हुन लाग्नेछ ।
संसारमा इच्छा(शक्ति संकल्पमा परिवर्तन हुन जान्छ । संकल्पबाट मनुष्य र मनुष्यबाट संकल्प हुन्छ । मानिसको इच्छाशक्तिले नै भाग्यलाई बनाउँछ र त्यही नै जित्ने शक्ति पनि हो ।
विजयको भावना जीवनको सबै कार्य र व्यवहारमा तबसम्म धारण गर्नुपर्दछ जबसम्म आत्मशक्ति आत्मविश्वासमा स्थिररूपले परिणत हुँदैन । जब मनमा विपरीत भावना उठ्छ , तब त्यसलाई बिल्कुल झुट्टा सम्झ । यस रीतिबाट सदा उदासीन भावहरूलाई हटाउन सकिनेछ ।
ब्रह्मज्ञानी परमपूज्य श्री १००८ खप्तडबाबा -तत्पुरुषका करकमलबाट लेखिएको ‘विचार-विज्ञान’बाट ।
प्रतिक्रिया