महत्त्व ब्रह्म मुहूर्तको

हिन्दु धर्ममा ब्रह्म मुहूर्तलाई विशेष महत्व दिइएको छ । ब्रह्म भनेको ईश्वर र मुहूर्त भनेको समय हो अर्थात् ब्रह्म मुहूर्त भगवानको समय हो । यो मुहूर्तमा शरीरमा नयाँ उर्जा र उत्साह सृजना हुन्छ भने यो समय सकारात्मक उर्जा बढी प्रवाह हुन्छ। ब्रह्म मुहूर्तमा सबै देवी देवताले पृथ्वीको दर्शन गर्ने जनविश्वास छ । यस्तो अवस्थामा देवी-देवतालाई प्रसन्न तुल्याउन यो समयमा केही विशेष काम गर्न सल्लाह दिइन्छ । शास्त्रमा केही यस्ता काम पनि उल्लेख गरिएको छ जुन ब्रह्म मुहूर्तमा गर्नु हुँदैन ।
ब्रह्म मुहूर्त कहिलेदेखि कहिलेसम्म ?
ब्रह्म मुहूर्त रात्रिको प्रहार पछि र सूर्योदय भन्दा ठीक अघिको समय हो। बिहान ४ बजेदेखि ५।३० बजेसम्मको समयलाई ब्रह्म मुहूर्त भनिन्छ ।
ब्रह्म मुहूर्तमा यी काम नगरौं
बिहान उठ्ने बित्तिकै वा ब्रह्म मुहूर्तमा खाना खानु हुँदैन । स्वास्थ्यको हिसाबले पनि यसलाइ शुभ मानिएको छैन । यो समयमा खाना खाँदा धेरै रोग लाग्न सक्छ । ब्रह्म मुहूर्तमा वातावरण शान्त हुन्छ । जीवनको महत्वपूर्ण निर्णय लिन, महत्वपूर्ण योजना बनाउन यो समय निकै उपयुक्त मानिन्छ । त्यसैले ब्रह्म मुहूर्तमा मनमा नकारात्मक भावना कहिल्यै ल्याउनु हुँदैन अन्यथा, तपाईं दिनभर तनावमा रहनु पर्नेछ भने यसका कारण मानसिक समस्याहरू पनि झेल्नुपर्ने हुनसक्छ ।
ब्रह्म मुहूर्तमा के गर्ने ?
ब्रह्म मुहूर्तमा शुभ कार्य गर्नाले चाँडै पूरा हुन्छ। यस्तो अवस्थामा यस समयमा उठेर नुहाएर पूजा गर्नुपर्छ । यस समयमा पूजा गर्नाले भगवानको विशेष आशीर्वाद प्राप्त हुन्छ।
प्रतिक्रिया