आइतबार, वैशाख ७, २०८२

योगमाया सम्मानहरू उप्रेती र बस्नेतलाई

नेपालखोज २०८० असार १० गते १७:२०

काठमाडौं । नेपाल स्रष्टा समाजले २०८० सालका लागि ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’ तथा ‘योगमाया न्यौपाने राष्ट्रिय अभियन्ता सम्मान’ प्रदान गर्ने घोषणा गरेको छ ।

समाजको कार्यसमितिको बैठकले यस वर्षको ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’ प्रसिद्ध लेखक तथा नारीकेन्द्रित खाद्य एवं पोषण अभियानकर्मी डा. अरुणा उप्रेतीलाई प्रदान गर्ने निर्णय गरेको छ भने ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान’ महानारी योगमायाको व्यक्तित्व तथा कृतित्व प्रचारप्रसारमा लामो समयदेखि क्रियाशील स्रष्टा तथा अभियानकर्ता चन्द्रबहादुर बस्नेतलाई प्रदान गर्ने निर्णय गरेको छ ।

योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मानमा आदरपत्र तथा २५ हजार १११ रुपैयाँ र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मानमा आदरपत्रका साथ (यस वर्षदेखि) ३५ हजार नगद राशि प्रदान गर्ने गरिन्छ । सो सम्मान यही असार २२ गते योगमाया दिवसका दिन प्रदान गरिने समाजले जनाएको छ ।

योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मानका संस्थापक साहित्यकार पवन आलोक हुन् भने योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मानका संस्थापक राजेश न्यौपाने तथा परिवार हुन् ।

प्रतिक्रिया