तुलसीको बोटमा पानी चढाउने सही तरिका

हिन्दु धर्ममा तुलसीको बिरुवालाई निकै महत्व दिइएको छ । तुलसीको बोटलाई देवीको साक्षात रूप मानिन्छ। तुलसीलाई धनकी देवी लक्ष्मीको दर्जा दिइएको छ । यदि आफ्नो जीवनमा कुनै आर्थिक समस्या चलिरहेको छ भने माता लक्ष्मीका रुपमा तुलसीको बिरुवाको पूजा गर्दा वा तुलसीसँग सम्बन्धित उपाय अपनाउँदा अवश्य लाभ मिल्छ । यद्यपि त्यसभन्दा पहिले वास्तु र ज्योतिषमा उल्लेखित तुलसीका मुख्य नियम के – कस्ता छन् र तुलसीको बोटमा पानी चढाउने सही तरिका के हो जान्नुपर्छ ?
तुलसीको वास्तु उपचार
तुलसीको नियमित पूजा गर्न सकिन्छ तर यसलाई बेलुकी छुन हुँदैन । यसबाहेक एकादशी, आइतबार, चन्द्रग्रहण र सूर्यग्रहणका दिनमा पनि तुलसीलाई छुनु हुँदैन । आइतबार तुलसीलाई जल चढाउनु हुँदैन । तुलसीलाई जलका साथै काँचो दूध पनि चढाउन सकिन्छ । दूध चढाउँदा अशुभ टाढा हुने जनविश्वास छ ।
तुलसीलाई जल चढाउने सही तरिका
तुलसीको बिरुवालाई भान्साकोठा वा बाथरुमको नजिक कहिल्यै राख्नु हुँदैन । पुजा कोठाको झ्यालमा तुलसीको बिरुवा राख्न सकिन्छ । यदि हरेक दिन तुलसीको परिक्रमा गर्न चाहने हो भने जल अर्पण गर्दा तुलसीको बोटको तीन पटक परिक्रमा गर्नुपर्छ । सबैभन्दा पहिले सूर्यलाई र त्यसपछि तुलसीलाई जल अर्पण गर्नुपर्छ। तुलसीलाई जल अर्पण गर्दा ‘महाप्रसाद जननी, सर्व सौभाग्यवर्धिनी अधिक व्याधि हर नित्यम्, तुलसीत्वम नमोस्तुते’ मन्त्र जप गर्नु उपयुक्त हुन्छ ।
घरमा तुलसीको बिरुवा कहिले रोप्ने ?
यदि घरमा तुलसीको बिरुवा छैन र यसलाई आफ्नो घरमा रोप्न चाहनुहुन्छ भने घरमा तुलसीको बिरुवा रोप्ने सबैभन्दा राम्रो समय कार्तिक महिना हो । तुलसीलाई माता लक्ष्मीको रूप मानिन्छ र कात्तिक महिनामा तुलसीको बिरुवा ल्याएर रोप्ने हो भने घरमा माता लक्ष्मीको आगमन हुन्छ । शास्त्र अनुसार कार्तिक महिनाको जुनसुकै बिहीबार घरमा तुलसीको बिरुवा ल्याउन सकिन्छ ।
बिहीबार भगवान विष्णुको दिन हो र भगवान विष्णुका रुपमा तुलसी भगवान श्रीकृष्णलाई अति प्रिय छ । वास्तुशास्त्र अनुसार तुलसीको बोट सधैं घरको उत्तर वा उत्तर(पूर्व दिशामा लगाउनु पर्छ। उक्त दिशामा देवताहरुको बास रहने बताइन्छ । तुलसीको बिरुवा घरको छेउ वा झ्यालमा रोप्न सकिन्छ । यसमा वास्तुशास्त्रमा दिइएको निर्देशनलाई ध्यानमा राख्नुपर्छ।
यो दिशामा तुलसीको बोट कहिल्यै नरोप्नुहोस्
घरको दक्षिण दिशामा तुलसीको बिरुवा लगाउनु हुँदैन । यो दिशा पिताको हो र यहाँ तुलसीको बिरुवा राखिए भने ठूलो आर्थिक नोक्सानी हुन सक्छ । उत्तरपूर्वमा पनि तुलसीको बोट रोप्न सकिन्छ । घरको प्रवेशद्वारमा वा फोहोर राख्ने वा चप्पलहरु राखिने ठाउँमा तुलसीको बिरुवा कहिल्यै लगाउनु हुँदैन । तुलसीलाई सिन्दुर चढाउने कुरामा धेरै भ्रम छ तर वास्तुशास्त्र अनुसार तुलसीको बोटमा सिन्दुर चढाउन सकिन्छ ।
तुलसीको बोटलाई सधैं माटोको भाँडोमा राख्नुपर्छ
तुलसीको बोट रोप्न प्लास्टिकका भाँडा कहिल्यै प्रयोग गर्नुहुँदैन । सम्भव भए तुलसीको भाँडामा कागती वा बेसारले ‘श्रीकृष्ण’ लेख्नुपर्छ । तुलसीको बोटले बुध ग्रहको प्रतिनिधित्व गर्दछ र यो ग्रहलाई भगवान श्रीकृष्णको रूप मानिन्छ। तुलसीक पात १५ दिनसम्म भगवान कृष्णको नजिक राखेर पातहरू सुकेपछि त्यसलाई प्रसादका रूपमा ग्रहण गर्न सकिन्छ ।
सामान्यतया मानिसहरूले तुलसीलाई रातो कपडा चढाउँछन् तर यो मंगलको रङ र तुलसी बुधको कारक हो। बुध र मंगल साथी होइनन्। बुधका लागि अनुकूल ग्रहहरू शुक्र र शनि हुन्। त्यसैले तुलसीजीलाई सेतो, चम्किलो वा नीलो चुुनरी चढाउनुपर्छफ। घरमा सधैं १, ३, ५ वा ७ वटा तुलसीको बिरुवा रहनुपर्छ । २, ४, ६ अंकमा तुलसीको बिरुवा कहिल्यै राख्नु हुदैन । तुलसीको बोटलाई फोहोर वा फोहोर हातले छुनु हुँदैन । यसो गर्नाले माता लक्ष्मी क्रोधित हुन सक्छिन्।
प्रतिक्रिया