बिहीबार, वैशाख ११, २०८२

आत्म ज्ञान : श्री १००८ खप्तडबाबा

नेपालखोज २०८० असार १६ गते ५:३९

एक महात्मासँग कसैले सोधे- ‘ ईश्वरको स्वरूप के हो ? ‘ तब महात्माले पनि सोधे- ‘ तिमी आफ्नो स्वरूप जान्दछौ ? ‘ उसले भन्यो’ जान्दिनँ । ‘अनि महात्माले भने- ‘ आफ्नो स्वरूपलाई जान्दैनौ , तब त साढे तीन हातको शरीरलाई म – म भनिरहेछौ र सम्पूर्ण विश्वको अधिष्ठान परमात्मालाई जान्ने कुरा गरिरहेछौ । पहिले आफूलाई चिन , अनि परमात्मालाई चिन्न सक्तछौ ।

ए मानव ! तिम्रो मस्तिष्क ईश्वरको ठुलो देन हो । ईश्वरले तिमीलाई यो उन्नत तथा विकसित मस्तिष्क सही दिशामा उत्पादनात्मक – सिर्जनात्मक भव्य विचार उत्पन्न गर्नका लागि प्रदान गरेको छ । यसको सदुपयोग गर र आफ्नो आत्मविश्वास बढाऊ । जुन प्रकारले रमाइलो फूलबारीमा हामी बीजारोपण गर्दछौं , जसबाट भिन्न भिन्न प्रकारका सुन्दर वृक्ष तथा पुष्प पैदा हुन्छन् , त्यसैगरी यी विचारहरूमाथि प्रतिदिन २/३ पटक मनलाई दृढतापूर्वक एकाग्र गर्नाले विचार यन्त्र पनि त्यसै दिशातर्फ अग्रसर हुन थाल्दछ तथा मनुष्य शारीरिक एवं मानसिक रूपले अर्थात् पूर्ण स्वास्थ्य लाभ गर्दै आफ्नो जीवनलाई सफल बनाउन सक्दछ ।

जीवनरूपी यस सङ्घर्षमा निराशा तथा पराजयको हैन , सदा – सर्वदा आशा , विश्वास तथा सफलताको भावना मनमा ल्याऊ । यसपटक त म अवश्य सफल हुनेछु तथा भविष्यमा मेरो सफलता शतप्रतिशत निश्चित छ यही प्रबल भावना सदा मनमा भर्ने गर । सदैव उन्नतिको मात्र विचार तथा चिन्तन गर । अवनतिको विचार बिर्सेर पनि मनमा आउन नदेऊ । लडखडाएर तल खस्ने हैन किन्तु जीवनलाई उत्तरोत्तर माथि उकास्ने पुष्ट विचार तथा सत् कार्यलाई अपनाऊ ।

धर्म र ईश्वरमा सदा आस्था राख , ईश्वर अदृश्य रूपमा सदा तिम्रो साथ छन् ।

भोजन गर्नु तथा सुत्नुभन्दा करिब १५ मिनेटअगाडि कुनै मनोरञ्जक मुद्राद्वारा चित्त प्रसन्न गराइनाले खाएको भोजनको पाचनक्रिया अझै राम्ररी हुन्छ तथा शरीरलाई अझै बढी पोषण प्राप्त हुन्छ तथा राम्ररी निद्रा लाग्दछ । मनोरञ्जक मुद्रा भन्नाले कुनै रमाइलो लेख , निबन्ध पढ्ने अथवा कुनै हाँसो उठाउने गफ गर्ने अथवा पहिले भएका त्यस्तै हाँसो उठाउने घटनाको स्मरण गरेर केही बेरसम्म हाँसेर चित्तलाई प्रसन्न पार्नुलाई जनाउँछ ।

प्रतिक्रिया