एक खर्ब ४३ अर्ब सामा निर्यात हुँदा, १४ खर्ब ८० अर्बको आयात, व्यापार घाटा १३ खर्ब ३७ अर्ब

काठमाडौं । आयात र निर्यातबिचको उच्च असन्तुलनका कारण नेपालको वैदेशिक व्यापार निकै नै कमजोर देखिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी चालु आवको ११ महिनाको प्रतिवेदन अनुसार कुल आयातको तुलनामा निर्यात न्यून हुँदा मुलुकको वैदेशिक व्यापार कमजोर देखिएको हो ।
प्रतिवेदन अनुसार चालु आवको ११ महिनामा कुल वस्तु निर्यात २२ दशमलव सात प्रतिशतले घटेर एक खर्ब ४३ अर्ब ५९ करोड रुपैयाँमा खुम्चिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५३ दशमलव तीन प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।
गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३२ दशमलव दुई प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः एक सय छ दशमलव सात प्रतिशत र नौ दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । व
स्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, अलैँची, ऊनी गलैँचा, तयारी पोसाक लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्र बैंकका अनुसार चालु आवको ११ महिनामा कुल वस्तु आयात भने १६ प्रतिशतले घटेर १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २७ दशमलव पाँच प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १४ दशमलव आठ प्रतिशत, १७ दशमलव एक प्रतिशत र १८ दशमलव पाँच प्रतिशतले कमी आएको छ ।
वस्तुगत आधारमा रासायनिक मल, स्पोन्ज आइरन, सुन, कागज, अन्य स्टेशनरी सामान लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, एम.एस.विलेट, औषधी, कच्चा भटमासको तेल, अन्य मेशिनरी तथा पार्टस्लगायतका वस्तुको आयात घटेको छ ।
निर्याततर्फ भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्ण नगर, मेची, रसुवा, तातोपानी र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको राष्ट्र बैंकको भनाई छ । आयाततर्फ रसुवा भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।
आयात र निर्यात दुवै घटे पनि व्यापार घाटा भने झन्डै १४ खर्ब रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार चालु आवको ११ महिनामा कुल वस्तु व्यापार घाटा १५ दशमलव दुई प्रतिशतले घटेर १३ खर्ब ३७ अर्ब ३९ करोड कायम भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात नौ दशमलव सात प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १० दशमलव शून्य पाँच प्रतिशत रहेको थियो ।
प्रतिक्रिया