केदारनाथको शिर डोलेश्वरमा श्रावणी मेला

भक्तपुर । सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा साउन १ गतेदेखि श्रावणी मेला लाग्दैछ । मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले हरेक वर्ष झैँ यस वर्ष पनि साउन १ गतेदेखि भदौ ६ गतेसम्म लाग्ने ३५ दिने श्रावणी मेलाको तयारी पूरा भएको बताए ।
यो वर्ष करिब दुई लाखले मेला अवलोकन गर्ने अपेक्षा गरिएको उनको भनाइ छ । श्रावणी मेलामा शनिबार र सोमबार दर्शनार्थीको अत्यधिक भीड हुने भए पनि पूजा गर्न एक घन्टाभन्दा बढी बस्न नपर्ने गरी व्यवस्थापन गरिएको जानकारी दिए । उनले विगतका वर्ष श्रावणी मेलाबाट करिब ५० लाख बचत हुने गरेको भन्दै यो वर्ष भारतीय पर्यटक बढेकाले एक करोड २५ लाखसम्म बचत हुने अपेक्षा गरिएको बताए । पञ्चस्नान गर्ने दर्शनार्थीका लागि पञ्चस्नानका सामग्रीका लागि एक हजार एक सयको रसिद काटेर दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको छ ।
व्यवस्थापन समितिका महासचिव हरिशरण बस्नेतले साउन १ गते सोमबार बिहान स्थानीय पौखेलस्थित चन्द्रविनायक मन्दिरबाट कलश यात्रा गरी मेलाको शुभारम्भ गरिने जानकारी दिए । उनले साउन २ गतेदेखि ८ गतेसम्म पण्डित जनार्दन पौडेलबाट शिव पुराण कथावाचन, साउन ९ गतेदेखि १५ गतेसम्म पण्डित उद्धवनारायण बास्कोटा शास्त्रीबाट पुरुषोत्तम महात्म्य वाचन, साउन १६ गतेदेखि २२ गतेसम्म पण्डित राघव अर्यालबाट श्रीमद्भागवत महापुराण वाचन गरिने जानकारी दिए । यसका साथै साउन २३ गतेदेखि २७ गतेसम्म पण्डित बालकृष्ण अर्यालबाट विभिन्न धार्मिक प्रवचन, साउन २८ गतेदेखि भदौ ५ गतेसम्म विभिन्न गुरुहरुबाट धार्मिक प्रवचनका साथै कलाकारहरुले भजनकीर्तन प्रस्तुत गर्नेछन ।
विसं २०६६ भदौमा मन्दिरलाई केदारनाथको शिर घोषणा गरिएको थियो । सोही अवसरमा भदौ ६ गते विशेष कार्यक्रम आयोजना गरी मेलाको समापन गरिँदै आएको छ । मेला अवधिमा स्वयंसेवक परिचालन गरिनेछ भने स्वास्थ्य शिविर पनि आयोजना गरिनेछ । सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष पुष्पराज बस्नेतले डोलेश्वर मन्दिर धार्मिकसँगै पर्यटकीय गन्तव्यकारुपमा समेत विकास गर्दै गएको बताउँदै नगरपालिकाले यहाँका शिवालयलाई समेटेर शिव सर्किटको निर्माण सुरु गरेको बताए । डोलेश्वर क्षेत्र धार्मिक पर्यटकीय दृष्टिकोणले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत ख्याति कमाउन थालेकाले नगरपालिकाले आर्थिक विकासका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।
प्रतिक्रिया