मंगलबार, वैशाख ९, २०८२

विमान अपहरणको कथामा चलचित्र बन्ने

नेपालखोज २०८० साउन १ गते ७:५१

काठमाडौं । विसं २०३० मा नेपालमा भएको विमान अपहरणका विषयमा आधारित रहेर चलचित्र ‘नाइन एनएबिबी’ निर्माण हुने भएको छ । चलचित्र निर्देशक विजय कार्कीले घोषणासँगै विषय मिल्दो पोस्टर सार्वजनिक गरेका छन् ।

‘लुकेका कथालाई बाहिर ल्याउनेछौँ । त्यो समयलाई पर्दामार्फत पूर्ण ताजा बनाउने छौँ’, निर्देशक कार्कीले भने, ‘यो घटनासँग जोडिएका र सरोकारवाला व्यक्तिहरूसँग सम्पर्कमा रहेर कथा तयार पारिरहेको छु । यसमा विमान अपहरणको योजना कसरी बन्यो र त्यसपछि के भयो भन्ने कुरा देखाइनेछ ।’ उनले यसको कथा लेखनमै रहेता पनि निर्माण घोषणा गरिएको बताए ।

‘म कथावाचक हुँ’ :

अभिनेता खनाल चलचित्र र रङ्गमञ्चमा उत्तिकै लोकप्रिय नाम बनिसकेका छन्, अभिनेता सरोज खनाल । तीन दशकको अभिनय यात्रापश्चात् उनी निर्देशक बनेका हुन् । छोटो चलचित्रको निर्देशन गर्ने योजना बनाए पनि विषयवस्तुले उनलाई ठूलो पर्दामै निर्देशक बनायो । त्यही कारण अभिनेता खनालको परिचयमा निर्देशक थपिएको छ । उनको पहिलो निर्देशकीय चलचित्र ‘बगान’ गत शुक्रबारदेखि नेपालभर प्रदर्शनरत छ । यद्यपि योजना बनाएर नै निर्देशनको यात्रा प्रारम्भ नभएको उनले जानकारी दिए।

‘मलाई नाट्यकर्मी सुनिल पोखरेलले एउटा पुस्तक दिनुभएको थियो । त्यहाँ सङ्ग्रहित कथामध्ये एउटा बगान थियो । त्यो पढेपछि यसलाई ठूलो पर्दामार्फत आम दर्शक र समाजमा पु¥याउनु पर्छ भन्ने लाग्यो’, अभिनेता खनालले भने, ‘यो कथा ममार्फत नै भन्नुपर्छ भन्ने लागेर निर्देशन गरेँ । मलाई छायाङ्कनकै समयमा कसैले निर्देशकभन्दा नि अप्ठ्यारो हुन्थ्यो । मैले सरोज नै भनेर सम्बोधन गरिदिनुस् भनेर भन्थे ।’

आफूलाई कथावाचक भन्न रुचाउने खनालले चलचित्रमा आफूभन्दा वरिष्ठ कलाकार नै बढी राखे। किनकि उनीहरू अभिनयमा पोख्त हुनाका साथै चरित्रअनुसार उपयुक्त थिए। तर, उनीहरूलाई निर्देशन गर्न अभिनेता खनाललाई सहज भने थिएन । ‘मैले छायाङ्कनका क्रममा कुनै कलाकारलाई पनि अभिनय गरेर बुझाइनँ, भनिनँ । केवल चरित्र र दृश्यलाई सम्झाएँ’, अभिनेता खनालले भने, ‘नीर राजा (नीर शाह) लाई मैले अलिकति फरक चाहिएको भनेर भूमिका बुझाएँ । उहाँ आफैँले विभिन्न चरित्र देखाएपछि मैले चाहेको यो हो भने, यसरी हामीले छायाङ्कन सकेका थियौँ ।’

सयौँ चलचित्रमा अभिनय गरिसकेका अभिनेता खनालले चलचित्रमा स्टार कलाकारभन्दा पनि विषयवस्तु महत्त्वपूर्ण हुनुपर्ने बताए । त्यसैले उनले एकल महिलाको कथा, समवेदना र शिक्षाको महत्त्वलाई चलचित्रमा प्रस्तुत गरेका छन् । आफैँसँग धेरै चलचित्रमा सहकार्य गर्नुभएकी अभिनेत्री करिश्मा मानन्धरलाई एकल महिलाको भूमिकामा प्रस्तुत गरेका छन् । आउँदा दिनमा समेत सामाजिक विषयवस्तुलाई ठूलो पर्दामा ल्याउने उनको योजना छ । यद्यपि उनले कलाकारितालाई पनि सँगै अगाडि बढाउने जानकारी दिए ।

चलचित्र ‘बगान’ मा निर्देशक खनालसँगै करिश्मा मानन्धर, प्रमिला कार्की, आकाश श्रेष्ठ, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मालगायतका कलाकारले अभिनय गरेका छन् । स्वप्निल नीरवको कथामा तयार भएको चलचित्रमा गौरीशङ्कर धुजुले छायाङ्कन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायाङ्कन, सन्देश शाहले सम्पादन, समीर मियाँले भिएफएक्स तथा रेनिश फागोले रङ संयोजन गरेका छन् । चलचित्रको वितरण रिच इन्टरटेनमेन्ट र डिसिएनले काठमाडौं उपत्यका र मोफसलमा एफडी कम्पनीले गरिरहेको छ ।

प्रतिक्रिया