साउन १, संयोग अनेक

काठमाडाैं । आज साउने सक्रान्ति । सूर्य मिथुनबाट कर्कट राशिमा प्रवेश गरेको दिनलाई साउने संक्रान्ति पर्वका रूपमा मनाइँदै आएको छ । यो दिनमा दान, पूजापाठ गर्ने हिन्दू परम्परा रहेको छ ।
माघ १ गतेदेखि उत्तरायण भएका सूर्य पनि आजकै दिनबाट दक्षिणायण लाग्ने ज्योतिषीय मत रहेको छ । ज्योतिषशास्त्रअनुसार दक्षिणायन र उत्तरायणको विशेष महत्व हुन्छ ।
साउन महिनालाई शिवजीको महिना पनि भनिन्छ । यो महिनामा शिवभक्तले व्रत बस्ने, उपासना गर्ने गर्छन् । यसैगरी महिलाले हरियो चुरा, हरियो पहिरन र हातमा मेहन्दी लगाउने गर्छन् ।
यसैगरी आजकै दिन लुतो फाल्ने चलन पनि हाम्रो समाजमा छ । बर्खाभरि रोपाइँ गर्दा हिलाले खुट्टा खानेलगायत छालासम्बन्धी रोग लाग्ने भएकाले लुतो फाल्दा निको हुने जनविश्वास रहिआएको छ ।
आज साउनको पहिलो सोमबार पनि हो। साउनका सोमबार विशेष मानिन्छन्। यस दिन औंसी पनि परेको छ। सोमबारे औंसीलाइ धार्मिक दृष्टिकोणका हिसाबले महत्वपूर्ण मानिन्छ।
आजैदेखि नयाँ आर्थिक वर्ष २०८१/०८१ पनि लागू भएको छ। सरकारले जेठ १५ गते बजेटमार्फत प्रस्तुत गरेकाे विभिन्न कर, भ्याटलगायतका नयाँ व्यवस्था कार्यान्वयनमा आएका छन्। – INS
प्रतिक्रिया