साउने व्रतको वैज्ञानिक लाभ
साउन महिना भगवान् शिव प्रति समर्पित छ । श्रावण महिनाको प्रत्येक सोमबार बाहेक अन्य महत्वपूर्ण तिथीहरुमा पनि व्रत बस्ने गरिन्छ । साउनमा भगवान शिवको आराधना गर्नाले शुभ फल प्राप्त हुनुका साथै जीवनमा सुख, समृद्धि अनि ऐश्वर्य वृद्धि हुने जनविश्वास छ । साउनको व्रतको धार्मिक महत्वसँगै केही वैज्ञानिक फाइदा पनि छन् ।
साउनमा मौसमी परिवर्तनका कारण हाम्रो पाचन क्रिया सुस्त हुन्छ । व्रत बस्दा हाम्रो पाचन प्रणालीलाई आराम मिल्छ र शरीरका सबै दूषित पदार्थ बाहिर निस्कन्छन । साउन महिनामा पालुगों , मेथी, बेथु , बन्दाकोपी , कोपी जस्ता तरकारी खानु राम्रो मानिँदैन । धार्मिक कारणले पनि यो शुभ हुँदैन र स्वास्थ्यमा पनि हानि पुग्छ । यो मौसममा यस्ता तरकारिमा ब्याक्टेरिया र कीराको संख्या बढ्छ ।
व्रतको अर्थ भोकै बसेर शरीरलाई कमजोर बनाउनु होइन, खानाको मात्रा घटाएर शरीरलाई केही समय आराम दिनु हो । यसले शरिरबाट विषाक्त तत्वहरू घटाउँछ । उपवासको समयमा फ्याट बर्निंङ प्रोसेस तिब्र हुन्छ जसका कारण बोसो छिट्टै पग्लन्छ । यदि यसो नहुने हो भने शरिरमा बोसो बढ्दै जान्छ र हड्डीमा भार बढ्छ । यहि कारणले हाम्रो मानसिक क्षमता पनि प्रभावित हुन्छ ।
उपवास बस्दा दिमागमा सकारात्मक उर्जाको संचार बढ्छ । शरीर स्वस्थ बन्छ। शरीर स्वस्थ हुँदा मन र मस्तिष्क पनि स्वस्थ हुन्छ । चतुर्मासका केही विशेष दिनमा व्रत बस्नु पर्छ जसले रोग र दुःख हटाउँछ । एउटा निश्चित उमेर पुगेपछि खानपानमा परहेज गर्नुपर्छ । व्रत बस्दा शरीर चुस्त हुनुका साथै शक्तिसमेत प्राप्त हुन्छ ।
व्रतले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भने प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउँछ । यसबाट हामिमा कुनै पनि रोगसँग लड्ने शक्ति बढ्छ। व्रत बस्दा नयाँ प्रतिरक्षा कोशिकाहरू बन्छन् ।
उपवास बस्दा मनमा संकल्पको भावना बढ्छ । दृढ मनमा मात्र सकारात्मकता, दृढता र निष्ठा हुन्छ । जीवनको हरेक क्षेत्रमा दृढ इच्छाशक्ति मात्र सफल हुन्छ । मन, वचन र कर्ममा दृढता वा संकल्प नभएको व्यक्तिलाई मृत मानिन्छ ।
प्रतिक्रिया