‘छक्कापञ्जा–४’ ले १८ करोड कमाउदा ‘शिवानी’को ५२० रुपैयाँ

काठमाडौं । चलचित्र विकास बोर्डले आर्थिक वर्ष २०७९–०८० मा सार्वजनिक प्रदर्शनमा आएका ५७ स्वदेशी र ७८ विदेशी फिल्मको बक्स अफिस कमाइ सार्वजनिक गरेको छ ।
विहीबार सार्वजनिक तथ्यांक अनुसार ‘छक्कापञ्जा–४’ ले सबैभन्दा बढी १७ करोड ९९ लाख ग्रस कलेक्सन गरेको छ भने सबैभन्दा कम कलेक्सन गर्नेमा फिल्म ‘शिवानी’ रहेको छ । त्यसले मात्र ५२० रुपैयाँ मात्र कमाएको सार्वजनिक विवरणमा उल्लेख छ ।
छक्कापञ्जापछि जारीले राम्रो व्यापार गरेको छ । जसको व्यापार १७ करोड १७ लाख ९५ हजार रहेको छ । त्यसपछि क्रमश : ‘प्रेमगीत–३’, ‘महापुरुष’, ‘दुई नम्बरी’ले राम्रो ग्रस कलेक्सन गरेको छ ।
असफल फिल्मको सूची हेर्दा ‘शिवानी’पछि ‘चोर र पुलिस’, ‘सरी म्याम’, ‘आधिँतुफान–२’, ‘ए साथी सुन’लगायतका फिल्म रहेको छ । बोर्डले कमाइसँगै रिलिज भएको मिति र टिकट बिक्री संख्या पनि सार्वजनिक गरेको छ ।
बोर्डको साउन २ गते बैठक बसेको थियो । रिलिज भएका स्वदेशी फिल्मको २७ लाख १६ हजार २१७ वटा टिकट बिक्रीबापत ७६ करोड ७२ लाख ५७ हजार रुपैयाँ ग्रस कमाइ भएको जनाइएको छ ।
गत आर्थिक वर्षमा ७८ वटा विदेशी फिल्म नेपालमा प्रदर्शन भएका छन् । रिलिज भएका विदेशी फिल्मको २५ लाख ८५ हजार ६०२ थान टिकट बिक्रीबापत ७९ करोड ४३ लाख ४ हजार सात सय रुपैयाँ ग्रस कलेक्सन भएको बोर्डले जनाएको छ ।
प्रतिक्रिया