जगाइँदै लोककथा

अहिले संयुक्त परिवार प्रायः भेटिदैनन् । संयुक्त परिवार नभएपछि नातीनातिना र बाजेबज्यैको भेट बिरलै मात्र हुने गरेको छ । बाजेबज्यै काखमा कथा सुन्दै निदाउने चलन विस्तारै हराउँदै गएको छ ।
पुस्तान्तरणको अभावमा हराउन थालिएका बागलुङका लोककथा अब लिपिबद्ध हुने भएका छन् । बाजेबज्यैको मृत्युपछि पुस्तान्तरण अभावमा लोककथा तथा किम्बदन्ती हराउँदै गएपछि लोक कथा संरक्षणका लागि सङ्कलन तथा लिपिबद्ध गर्न थालिएको छ ।
रिड नेपालको आर्थिक सहयोग तथा विद्यामन्दिर पुस्तकालयको आयोजनामा बागलुङकोे कथा सङ्कलन तथा अभिलेखिकरणको काम गरिएको मात्रै छैन कथामा आधारित चित्रसमेत निर्माण गर्न थालिएको छ ।
बागलुङको काठेखोला गाउँपालिका–७ रेशका ईश्वरीप्रसाद गौतमले ‘बाजेबज्यैको कथा मेरो चित्र’ अन्तर्गत विद्यामिन्दर पुस्तकालयमा बालबालिकालाई जम्मा गरेर ओदानको कथा सुनाए ।
‘कथामध्येको किम्बदन्ती कथा ओदानको कथामा बाइसेचौबिसे राज्यअन्तर्गत भूरे राजाका पालामा आकाशबाट चट्याङ खस्ने क्रममा प्राकृतिक ओदान खसेको थियो, उक्त ओदान खसेर तोरीखेतमा नाच्नेक्रममा एउटा खुट्टा भाँचिएपछि ओदान त्यही रह्यो’, गौतमले बालबालिकालाई कथा सुनाउँदै भने, ‘अहिले त्यस स्थानको नाम ओदानडाँडा नामकरण गरिएको छ, दुईखुट्टे ओदान त्यहाँ संरक्षित छ, ।
अहिले उक्त ओदान भएको स्थानलाई ओदानेश्वर मन्दिरको नामकरणसमेत गरिएको छ । अहिले त्यहाँ ओदान देख्न सकिन्छ । इतिहास र प्रमाणका आधारमा भनिएको किम्बदन्ती कथा बालबालिकाले पुनःलेखन मात्रै गरेनन् ओदानको कथासँग सम्बन्धित रहेर चित्रसमेत कोरेको छ ।
चार दिनसम्म चलेको ‘बाजेबज्यैको कथा मेरो चित्र’ कार्यक्रम अन्तरगत सङ्कलित एक दर्जन लोककथा सङ्ग्रह, पुनःलेखन र चित्रसहित ‘बागलुङको कथा’ नामक पुस्तक प्रकाशन गरिने विद्यामन्दिर पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर थापाले जानकारी दिए ।
लोक कथाका चार विधामध्येको दन्त्यकथा सत्यतामा आधारित कथालाई बागलुङको परिवेशसँग जोडेर लोककथा संरक्षणसँगै लिपिबद्ध गर्न थालिएको वरिष्ठ बाल साहित्यकार प्राध्यापक डा. धु्रव घिमिरेले जानकारी दिए ।
‘बागलुङको नामकरण कसरी भयो, ओदानको कथा, कालीका मन्दिर कसरी स्थापना भयो, सत्यवतीको कथा लगायतका एक दर्जन लोककथा बाजेबज्यैले सुनाए, कथालाई बालबालिकाले लेखन तथा चित्रमा उताएका छन्, कथालाई काँटछाट गरेर हामीले रिड नेपालको सहयोगमा प्रकाशनमा ल्याउनेछौंँ’, घिमिरेले भन, ‘हामीले बाजेबज्यैसँग बालबालिकाको सामिप्यता बढाउन खोजेका छौँ, बागलुङको कथा रिड नेपाल अन्तरगतका पुस्तकालयमा उपलब्ध हुनेछ, जसले भावी पुस्ताका लागि ऐतिहासिक दस्तावेजको काम गर्ने छ, लोप भएका लोककथा जोगाउने छ ।’
बाजेबज्यैको काखमा बसेर पुराना कथा र कहानी सुन्न पाउन छाडेपछि नयाँ पुस्तालाई यससम्बन्धी ज्ञान दिनका लागि बाजेबज्यैको कथा बालबालिकालाई सुनाउन थालिएको हो ।
कलिला बालबालिका इन्टरनेट र विदेशी संस्कृतिमा जोडिँदा आफ्नो संस्कृतिसमेत भुल्ने र एक्लिने प्रवृति बढेपछि यस्तो अवधारणा ल्याइएको रिड नेपालकी वरिष्ठ फिल्ड संयोजक विना गोलेले बताए । गोलेका अनुसार रिड नेपालले १० वर्षदेखि लोक कथाको संरक्षण र दस्तावेजीकरण गर्दै आएकामा हालसम्म १४ जिल्लाका लोककथा सङ्ग्रह भइसकेको जानकारी दिए ।
उनले बागलुङमा थुप्रै लोककथा रहे पनि लिपिबद्ध नहुँदा हराउने भन्दै रिड नेपालले बागलुङको लोक कथा सङ्ग्रह प्रकाशन गर्न थालेको बताए । लोककथा लोप भएर जाने खतरा बढेपछि बाजेबज्यैका कथा बालबालिकालाई सुनाउने र लिपिबद्ध गर्ने गरी बागलुङसँग सम्बन्धित एक दर्जन लोककथा सङ्ग्रह गरिएको हो ।
देशभर अभियान चलाएको रिड नेपालको सहकार्यमा बागलुङको विद्यामन्दिर पुस्तकालयले पनि बाजेबज्यैका कथामा बालबालिकालाई जोडेर लिपिबद्ध गर्न थालेको हो । साना बालबालिकालाई जिल्लाको सामाजिक, शिक्षा र जागरणका कथा सुनाउने पाको पुस्ता जुटाइएको थियो । त्यस्तै धार्मिकस्थलको कथा, महत्व र त्यसको संरक्षणमा गरिएका प्रयाससमेत पाको पुस्ताबाट बालबालिकालाई सिकाइएको छ ।
पढाइ, जागिर र अन्य बाध्यताले बाजेबज्यै र नातीनातिनीहरु एकै स्थानमा बस्ने अवसर नहुँदा पुस्तान्तरण हुनुपर्ने धेरै विषय रोकिएका कारण बाजेबज्यैको कथालाई पुस्तान्तरणको प्रयासस्वरुप यस्तो लोककथालाई सङ्ग्रह गरिएको हो । बालबालिकाले कथा सुन्ने र त्यसकै आधारमा इतिहास तथा समाजको चित्र कोर्ने विद्यार्थी उत्पादनमा रिड नेपालले देशभर अभियान चलाउँदै आएको छ ।
कला, संस्कृति र व्यवसायका लागि पुरानो पुस्ताले गरेको सङ्घर्षको कथा बाजेबज्यैको मुखबाट बालबालिकालाई सुनाउने तथा सचित्र उतार्ने कार्यले हामी जस्ता बालबालिकाले आफ्नै घर आँगनको लुकेको विषयमा जानकारी पाइएको विद्यार्थी दिपेन पाण्डेले बताए । एकल परिवारका रुपमा बस्न थालेपछि कथा र कहानी सुन्ने अवसर बालबालिकाले पाउन छाडेका छन् । त्यस्तै आफ्नै जाती, समुदायभित्रको कला, संस्कृति र
परम्परा किन मानिएको हो भन्नेसमेत बालबालिकाले जान्न नसकेका कारण बाजेबज्यै र बालबालिकालाई जोड्न थालिएको हो ।
प्रतिक्रिया