आइतबार, वैशाख ७, २०८२

एक जनाले चाहँदैमा विकृतिको चाङ हट्दैन, सबैको साथ आवश्यक छ : प्रधानमन्त्री दाहाल

नेपालखोज २०८० साउन १० गते ७:१८

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, विकास निर्माण र समृद्धिको पक्षमा नयाँ अभियान सञ्चालन गरेको बताएका छन् । गैरआवासीय नेपाली सङ्घ इटालीद्वारा प्रधानमन्त्रीको स्वागत तथा सम्मानमा आज इटालीको रोममा आयोजित कार्यक्रममा उनले भ्रष्टाचार र बेथितीका विरुद्धमा सरकारले कडा कदम चालेको बताए ।

आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भएलगत्तै बेथितीको नियन्त्रण, सेवा प्रवाहमा सहजीकरण र नागरिकको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने उद्देश्यका साथ महत्त्वपूर्ण कामको थालनी गरेको बताए । जनताले लामो समयदेखि सास्ती व्यहोर्दै आएको राहदानी तथा सवारी चालक अनुमतिपत्र प्राप्तिमा सहजीकरण गरिएको जानकारी दिँदै उहाँले अर्थतन्त्रमा देखिएको डरलाग्दो अवस्थालाई सही ट्र्याकमा ल्याइएको बताए । नक्कली भुटानी शरणार्थी प्रकरणमा राष्ट्रहित विपरित र सङ्गठित अपराधका रुपमा काम भएको देखिएकाले सरकारले उक्त कदम चालेको बताए ।

नेपालमा थुप्रिएको बेथिती र विसङ्गतीको चाङ अन्त्य गर्ने विषय रातारात एक जनाले चाहँदैमा भइहाल्ने अवस्था नरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले विकृति र विसङ्गित अन्त्यका लागि सम्पूर्ण नेपालीको साथ आवश्यक रहेको बताए । पछिल्लो राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्न जसरी भए पनि नेपाल र नेपालीको अवस्थामा सुधार ल्याउनुपर्नेमा जोड दिँदै उनले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन नसकिए यसको औचित्य सावित नहुने बताए ।

नेपालमा उत्पादित सामग्रीले युरोपको बजार पाउन नसकेको, राहदानीसम्बन्धी समस्या, इटालीले ल्याउने मौसमी कामदारको सूचीमा नेपाल नसमेटिएकालगायत गैरआवासीय नेपालीले उठाएका विषयलाई सम्बोधन गर्न सरकार तयार रहेको उनको भनाइ थियो ।

परराष्ट्र सचिव भरतराज पौडेलले गैरआवासी नेपालीको नागरिकतासम्बन्धी विषय सम्बोधन भएको बताए । अस्ट्रियाका लागि नेपाली राजदूत भरतकुमार रेग्मीले आफूहरु इटालीमा रहेका नेपाली समुदायसँग अत्यन्त नजिक रहेको उल्लेख गर्दै नेपालीले भोग्दै आएका समस्यालाई नेपाल सरकारसमक्ष पुर्याउने गरेको बताए ।

कार्यक्रममा सहभागी मुलुकबाहिर रहेका नेपालीले आफ्नो परिवारको भन्दा पनि मातृभूमिको माया गरी आएको उल्लेख गर्दै सहभागीले गैरआवासीय नेपालीले नागरिकता प्राप्त गर्ने वातावरण बनेकामा सरकारलाई धन्यवाद दिएका थिए । पछिल्लो दुई वर्ष गैरआवासीय सङ्घका लागि सुखद नरहेको भन्दै उनीहरुले विभाजित एनआरएनएलाई प्रधानमन्त्रीको उपस्थितिमा एक ठाउँमा ल्याउने सम्झौता भएकामा आभार व्यक्त गरेका थिए ।

प्रतिक्रिया