आइतबार, वैशाख ७, २०८२

‘ग्लोबल बोयलिङको युग सुरु भएको छ’

नेपालखोज २०८० साउन १३ गते ५:४३

काठमाडाैं । ग्लोबल वार्मिङको युग समाप्त भएको छ र अब ग्लोबल ग्लोबल बोयलिङको युग सुरु भएको छ । यो कुरा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको हो । जलवायु परिवर्तनसँग सम्बन्धित प्रतिवेदन सार्वजनिक गर्दै गुटेर्रेसले यो वर्षको जुलाई महिना मानव इतिहासमा अहिलेसम्मकै सबैभन्दा तातो महिना हुने बताए ।

गुटेरेसले भने- जुलाईको पहिलो तीन हप्ताको पछिल्लो तथ्याङ्कले यो महिना अहिलेसम्म अभूतपूर्व रूपमा तातो भएको देखाउँछ । युरोप, उत्तर अमेरिका तथा एसियामा तातो लहरका कारण विश्वव्यापी औसत तापक्रम बढेको छ । गुटेर्रेसले भनेका छन्- जुलाई २०२३ मानव इतिहासको सबैभन्दा तातो महिना हुन गैरहेको छ । हामीले यसका लागि महिनाको अन्त्यसम्म पर्खनु पर्दैन ।

जारी गरिएको पछिल्लो तथ्याङ्कले यो महिना तीन अत्यन्तै ताता हप्ता भएको देखाएको छ, जसमध्ये तीनवटा रेकर्ड उच्च छन् र समुद्रको तापक्रम समेत अत्यन्त उच्च छ । यसको नतिजा स्पष्ट छ र यो एउटा त्रासदी हो । मनसुनी वर्षा बालबालिकाहरुमा विनाश बनेर बर्सिरहेको छ, परिवारहरू जङ्गलमा लागेको आगोबाट भागिरहेका छन्, कामदारहरू चर्को गर्मीसँग लडिरहेका छन् । यो हाम्रो सम्पूर्ण ग्रहका लागि विपत्ति हो ।

उनले भने, ग्लोबल वार्मिङको युग सकिएको छ र अहिले ग्लोबल बोयलिङको युग सुरु भएको छ । अहिलेको हावामा सास फेर्न गाह्रो छ, गर्मी सहन गाह्रो छ । जीवाश्म इन्धनको फाइदाको चक्करमा जलवायु बिनासको यो क्रम नरोक्ने प्रयास कदापि स्वीकार गर्न सकिँदैन ।

यसबीच विश्व मौसम विज्ञान संगठनले पनि जतिसक्दो चाँडो जीवाश्म इन्धनको प्रयोग घटाउनुपर्ने ठूलो आवश्यकता रहेको बताएको छ ।

प्रतिक्रिया