सदनकाे अवरोध हटाउन भाेलि अपराह्न १२ बजे शीर्ष नेतासँग छलफल गर्दै सभामुख

काठमाडाैं । सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउने विषयमा शीर्ष दलका नेताहरूसँग छलफल गर्ने भएका छन् । सोमबार संसद् बैठक बस्नअघि शीर्ष दलका नेतासँग छलफल गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जानकारी दिएको छ ।
सभामुख घिमिरेले आज सदनको अवरोध हटाउने विषयमा सचेतकहरूसँग छलफल गरेका थिए । तर छलफलमा सत्तापक्ष र प्रतिपक्ष दुवैले सुन तस्करी प्रकरणका विषयमा आ-आफ्नो अडान कायम राखेपछि उनले सोमबार अपराह्न १२ बजे शीर्ष दलका नेतासँग सदन अवरोधको निकास खोज्न बैठक तय गरेका हुन् । आजको बैठकमा सत्तापक्षका सचेतकहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्णयअनुसार नै भ्रष्टाचारको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समितिको आवश्यकता नभएको बताएको थियो ।
उनीहरूले सरकारी निकाय नै पर्याप्त भएको अडान लिएका थिए । यता, प्रतिपक्षका सांसदले अहिलेको सरकारी संयन्त्रले छानबिनको काम गर्न नसक्ने र ठूला दलका नेतालाई अनुसन्धानको दायरामा ल्याउन नसक्ने बताए । उनहरूले उच्चस्तरीय छानबिन समिति गठन गराैं भन्ने पक्षमा अडान लिए । सभामुखको कार्यकक्षमा भएको छलफलमा नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, नेकपा(एमाले) का सांसद लीलानाथ श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार, जनता समाजवादी नेपालका प्रमुख सचेतक प्रदीप यादव र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाही सहभागी थिए ।
नेकपा (माओवादी केन्द्र) का प्रतिनिधि सहभागी थिएनन् । नेकपा (एमाले) सचेतक महेशकुमार बर्तौलाले सदनको अवरोध हटाउन सभामुखले शीर्ष नेताको तहमा पहल गर्नुपर्ने बताए । उनले सत्तापक्षले संवादबाट निकास खोज्न तयार नरहेको बताए ।
प्रतिक्रिया