‘गाईजात्रा’ को तयारीमा कलाकार

काठमाडौं । ‘गाईजात्रा’लाई हाँस्य कलाकारले भव्यरूपमा मनाउने गर्छन् । सो दिन समाजमा देखिएको विकृतिलाई उनीहरूले आफ्नो प्रहसनमार्फत प्रस्तुत गर्ने गर्छन् ।
यसले समाजलाई हाँस्य शैलीमा भए पनि त्यसको नकारात्मकताबारे सचेत गराइन्छ । यद्यपि केही वर्षदेखि हाँस्य कलाकारमाझ नै यसको उत्साह घटेको पाइन्छ ।
कुनै समय काठमाडौंमा दुईदेखि तीन समूहसम्मले गर्ने ‘गाईजात्रा’ प्रहसन अहिले एक ठाउँमा मुस्किलले हुन्छ । वर्षभरिका राजनीतिक, सामाजिकलगायतका विकृतिप्रति खुलेर व्यङ्ग्य प्रहार गर्ने पर्वलाई भौतिकसँगै डिजिटलरूपमा मनाउने तयारीमा कलाकार जुटेका छन् । हाँस्य कलाकार जीतु नेपाल ‘कमेडी टुर’सँगै डिजिटलरूपमा समेत प्रस्तुतिको तयारी गरिरहेका छन् ।
उनले भने, ‘डिजिटलरूपमा एक साताको प्रस्तुति तयार गर्दैछु, यसबाहेक कमेडी टुर गर्दैछु, जनप्रतिनिधिले जनताको गुमाइरहेको विश्वास र दायित्व भुल्नुभएको विषयमा व्यङ्ग्य गर्दैछु ।’ कोरोनाका कारण भएको बन्दाबन्दीपछि भौतिकरूपले नभइरहेको ‘गाईजात्रा’ यसपटक कमलादीस्थित प्रज्ञा भवनमा हाँस्य कलाकार मनोज गजुरेलले आफ्नो समूहसँग गर्दै छन् । उनले पहिलो चरणमा पूर्वी नेपाल, दोस्रो चरणमा काठमाडौं र तेस्रो चरणमा पश्चिम नेपालमा आफ्नो समूहको प्रहसन प्रस्तुत हुने जानकारी दिए ।
यस्तै हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, सन्तोष पन्त, किरण केसी, राजाराम पौडेल, दीपकराज गिरी, केदार घिमिरेलगायत कार्यक्रमको तयारीमा छैनन् । विशेषतः ठूलो पर्दामा काम गर्न थालेपछि हाँस्य कलाकार गिरीलगायतको समूहले कार्यक्रम गरेका छैनन् ।
स्वास्थ्य अवस्थाका कारण ‘मह जोडी’ले पनि कार्यक्रम नगरेको लामो समय भइसकेको छ । यद्यपि निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला भने ‘रेडियो अडियो’मार्फत ‘गाईजात्रा’को प्रस्तुति दिने तयारीमा छन् ।
विसं २०६१ देखि निरन्तर क्यासेट, सिडी हुँदै युट्युबमा आफ्नो प्रहसन तयार गरिरहेका हाँस्य कलाकार शिवशङ्कर रिजाल ‘जोगिन्दर’ ले ‘लुछाचुँडी’ नामक प्रहसन सार्वजनिक गरिसकेका छन् ।
प्रतिक्रिया