नाचघरमा गीतकार सांगीतिक कार्यक्रम आज

काठमाडौं । गीतकार उपचार कोषका लागि सहयोग जुटाउने उदेश्यले गीतकार संघ नेपालले यही आज एउटा विशेष सांगीतिक कार्यक्रम आयोजना गर्दैछ । जमलस्थित राष्ट्रिय नाचघरको प्रेक्षालयमा ‘गीतकार सांगीतिक कार्यक्रम’ शीर्षकमा यो मनोरञ्जनात्मक कार्यक्रम आयोजना हुन लागेको हो ।
नेपाली गीतकारहरुको छाता संगठन गीतकार संघ नेपालले यो कार्यक्रममा राष्ट्रिय स्रष्टा सम्मानबाट सम्मानित अग्रज गीतकारहरुको गीत प्रत्यक्ष बाजामा प्रस्तुत गरी नेपाली गीत लेखनमा योगदान पुर्याउने तमाम गीतकारहरुको लागि गीतकार उपचार कोषको सहयोगका लागि ‘गीतकार सांगीतिक कार्यक्रम’ आयोजना गर्न लागिएको गीतकार संघ नेपालका महासचिव टिका राई ‘शिव’ले बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको प्रमुख आतिथ्यतामा आयोजना हुने यो विशेष सांगीतिक कार्यक्रममा लोकप्रिय तथा प्रतिभाशाली गायक–गायिकाहरुले विभिन्न गीत–संगीत प्रस्तुत गर्ने गीतकार संघ नेपालका अध्यक्ष बसन्त वित्यासी थापाले बताएका छन् ।
उक्त विशेष सांगीतिक कार्यक्रममा रत्न शम्शेर थापाद्वारा रचित दुई गीत जाग लम्क चम्क, ए कान्छा ठट्टैमा, किरण खरेलको बसन्त नै बस्न खोज्छ यहाँ, यादव खरेलको गैरी खेतको, भैरवनाथ रिमाल ‘कदम’ को जुन फूल मैले, उदास मेरो जीवन, नगेन्द्र थापाको चिनारी हाम्रो, राजेन्द्र थापाको पोहोर साल खुसी फाट्दा, प्रेम विनोद नन्दनको ज्यानको माया नैना रेशम, विश्व बल्लभको भाग्यले खुसी, शिवशंकर थापाको भन्थिन् मेरी उनी, दुर्गालाल श्रेष्ठको फूलको आँखामा फूलै संसार बोलका गीतहरु प्रस्तुत गरिने अध्यक्ष थापाले जानकारी दिए ।
यो कार्यक्रममा नेपाली गीत–संगीतको क्षेत्रमा आवद्ध विभिन्न सरकारी निकाय, संघ–संस्था, गीत–संगीतप्रेमीहरु तथा संस्थामा आवद्ध सम्पूर्ण सदस्यहरुलाई आफ्नो स्वइच्छाले टिकट खरिद गरि अथवा कार्यक्रममा उपस्थिति जनाई उक्त सांगीतिक कार्यक्रम भव्यताको साथ सम्पन्न गर्न गीतकार संघ नेपालले अनुरोधसमेत गरेको छ ।
प्रतिक्रिया