मंगलबार, वैशाख ९, २०८२

मुन्द्रेको हाँस्य–व्यंग्य कवि सम्मेलन

नेपालखोज २०८० भदौ २ गते ६:५७

काठमाडौं । गाईजात्रा-२०८० का अवसरमा कलाकार जितु नेपालले आफ्नो युट्युब च्यानलमार्फत समसामयिक हाँस्य व्यंग्य प्रस्तुत गर्ने भएका छन् ।

अनलाइन माध्यममा दर्शकहरुको बढदो रुचि लाई ध्यानमा राखेर गाईजात्रे कार्यक्रम तयार पार्न लागेको कलाकार नेपालले बताएका छन् ।

राजनीतिक बेथिती र सामाजिक विषयमाथि प्रहसनसहित ‘हाँस्य–व्यंग्य कवि सम्मेलन–२०८०’ शीर्षकमा कविहरूको चोटिलो प्रस्तुति ल्याउन लागिएको कलाकार नेपालले जानकारी दिएका छन् ।

नेपालको संयोजन तथा निर्देशनमा तयार गरिने यो कार्यक्रम उत्पादनमा उनलाई निर्देशक तथा कलाकार निरज नेपालले सघाउँदै छन् । राधिका कँडेल कार्यक्रम उदघोषकको भूमिकामा छिन् भने विशेष प्रस्तुतिका रुपमा रहेको हाँस्य ब्यङ्ग कवि सम्मेलनमा कविहरू डा. बम बहादुर थापा जिताली, डिल्ली प्रसाद मुल्तिउन, शिरोमणि दवाडी, टेक बहादुर कोइराला, सारांश थपलिया र रविन्द्र नेपाल प्रस्तुत हुने छन् ।

यो वर्षको गाईजात्रा भदौ १४ गतेको सेरोफेरोमा मुन्द्रेको कमेडी क्लब नामक युट्युब च्यानलमार्फत यी सबै प्रस्तुति सार्वजनिक गरिने जितु नेपालले जानकारी दिए ।

प्रतिक्रिया