जनै बनाउने चलन कम हुँदै, जनै पनि आयात गरिन्छ

नवलपरासी । हिन्दू धर्मावलम्बीले मात्र प्रयोग गर्ने जनै बनाउने प्रचलन कम हुँदै गएपछि बजारमा खरिद गरी प्रयोग गर्ने क्रम बढेको छ ।
जनै घरमा नै तयार पार्ने प्रचलन हराउँदै गएपछि बाह्य उत्पादनको भर पर्नुपर्ने अवस्था आएको नवलपरासी (बर्दघाट सुस्तापूर्व)कावासोती नगरपालिका–६ का खुमकान्त गौडेलले बताए ।
पाँच वर्ष अगाडिसम्म जनै बनाएर आफन्त सबैलाई पुर्याउँदै आएको भए पनि पछिल्लो समय बजारबाट खरिद गरी प्रयोग गर्ने गरेको गौडेलले बताए । गाउँमा अहिले जनै बाट्नै छाडिसकेको गौडेलले बताए । जनैपूर्णिमाका लागि बजारबाट मेसिनले बाटेको जनै खरिद गरेर ल्याएको उनले बताए ।
बजारमा विदेशबाट आयातित र विभिन्न मेसिन तथा उपकरण प्रयोगबाट बनाइएका जनै फरक–फरक मूल्यमा पाउन सकिन्छ । बजारमा मेसिनबाट बनाइएको जनै प्रतिगोटा मूल्य रु छ र हातले बनाएको जनै प्रतिगोटा रु १५ रहेको गणेश धार्मिक पसलका नारायण खनालले बताए ।
यस दिन स्नान गरी सप्तऋषिसहित ब्रह्मा, विष्णु र महेश्वरको पूजा गरी जनै मन्त्रेर त्यसलाई धारण गर्ने प्रचलन छ । ठाउँ ठाउँमा पुरोहितले विधि पुर्याएर पूजा गरेको जनै र रक्षाबन्धन धारण गर्नुपर्ने उनले बताए । जनैपूर्णिमा (रक्षाबन्धन) का दिन इष्टमित्रसँग जनै लगाउने र रक्षाबन्धन बाँध्नाले शत्रुबाट रक्षा हुने जनविश्वास रहिआएको छ ।
प्रतिक्रिया