चितवन मेडिकल कलेजमा दस वर्षमा सात हजार बढी मुटुको शल्यक्रिया

चितवन । चितवन मेडिकल कलेज (सिएमसी) ले विगत दस वर्षमा सात हजार एक सय ९० जनाको मुटुको शल्यक्रिया गरेको छ । प्रा. डा. श्यामराज रेग्मी र प्रा. डा. विष्णुमणि धितालको टोलीले सो शल्यक्रिया गरेको हो ।
दश वर्षसम्म काठमाडौंको गङ्गालाल हृदयरोग केन्द्रमा पाइएको अनुभव लिएर चितवन आएका प्रा. डा. रेग्मीले सिएमसी क्याथल्याब सुरु गरेपछि यस क्षेत्रका बिरामी बाहिर जानु परेको छैन भने काठमाडौंलगायत अन्य सहरबाट समेत मुटुको उपचारका लागि यहाँ आउने गरेको पाइएको छ ।
क्याथल्याब इञ्चार्ज अमृत काफ्लेका अनुसार विसं २०७० भदौ ११ गतेदेखि हालसम्म अस्थायी पेसमेकर तीन सय २० जनामा, स्थायी पेसमेकर तीन सय जनामा, क्रोनरी एन्जीयोग्राफी तीन हजार पाँच सय जनामा, क्रोनरी एन्जीयोप्लास्टीक दुई हजार पाँच सय पाँच जनामा गरिएको थियो ।
मुटुको सानो भल्व बेलुनले फुलाउने (बिपीभी) १५ जनामा, मुटुमा जमेको पानी तान्ने एक सय ५० जनामा, मुटुको आसपासका नसाको एन्जीयोग्राफी १५० जनामा र मुटुको बाथरोगको बेलुनद्वारा फुलाउन दुई सय ५० जनामा शल्यक्रिया गरिएको उनले जानकारी दिए ।
डा. रेग्मीका अनुसार सात वर्षदेखि ९६ वर्षसम्मका बिरामीको मुटुको शल्यक्रिया गरिएको छ । नेपालमा मुटु रोगको उपचार हुने सरकारी अस्पताल गङ्गालालसरहको शल्यक्रिया शुल्क लिँदै आइएको अस्पतालले जनाएको छ । अस्पतालमा नेपाल सरकारले उपलब्ध गराउँदै आएको एक लाखको छुटसमेत बिरामीले पाउने गरेका छन् ।
प्रतिक्रिया