आइतबार, वैशाख ७, २०८२

किन पूर्व फ्रान्सेली उपनिवेशहरू सैन्य विद्रोहले पिडित छन् ?

नेपालखोज २०८० भदौ १४ गते १५:२०

काठमाडाैं । अफ्रिकाका पूर्व फ्रान्सेली उपनिवेशहरू बढ्दो सैन्य विद्रोहका लागि कुख्यात हुँदै गएका छन्। गरिबीको चिन्ताजनक प्रवृत्ति, अप्रभावी नागरिक समाज तथा मिडियामा अत्यधिक फ्रान्सेली प्रभावलाई यसको श्रेय दिइएको छ। पश्चिम अफ्रिकाका फ्रान्सेली उपनिवेशहरूमा राजनीतिक अस्थिरताका कारण सैन्य विद्रोहहरू भैरहेका छन्।

मध्यअफ्रिकी मुलुक ग्याबोनमा सैन्य विद्रोह भएको छ । गणतन्त्रका सबै संस्था भङ्ग भएका घोषणा गर्दै १२ जना सैन्य अधिकारीले सत्ता लिएको बताइएको छ । सेनाका अधिकारीहरूले राष्ट्रिय टेलिभिजनबाट सत्ता हातमा लिएको घोषणा गर्दै गत शनिबार भएको निर्वाचनको नतिजा रद्द गर्ने बताएका छन् । वर्तमान राष्ट्रपति अली बोङ्गो विजयी घोषित भए पनि विपक्षीहरूले धाँधली भएको तर्क गरिरहेका बेला यो बिद्रोह भएको हो ।

यश अघि फ्रान्सको उपनिवेश रहेको नाइजरका निर्वाचित राष्ट्रपतिलाई सेनाले आफ्नो सुरक्षा घेरामा राखेर गत जुलाई २८ देखि सत्ता सञ्चालन गरिरहेको छ । केही वर्षयता अफ्रिकामा सैन्य विप्लव नियमित घटना भएका छन् । हालैका वर्षमा बुर्किना फासोमा दुईपटक र गिनी बिसाउ, गाम्बिया र साओ टोम र प्रिन्सिपेमा एकपटक असफल विद्रोहका प्रयासका छन् ।

२०२० देखि फ्रान्स विरोधी भावनाको वृद्धिले बुर्किना फासो, गिनी, माली र हालै नाइजर जस्ता देशमा सैन्य विद्रोहलाई उत्तेजित गरेको छ वा योगदान पुर्‍याएको छ। सेनेगली मानव अधिकार अधिवक्ता तथा ओपन सोसाइटी फाउन्डेसनका सदस्य इब्राहिम कानेले फ्रान्सेली प्रभावबाट मुक्त हुन चाहने भावनाहरू वास्तविक हुन् भनी बताए।

लोकतन्त्रमा कम आशा

तुलनात्मक रूपमा स्थिर राजनीतिक वातावरण भएको अङ्ग्रेजी बोल्ने अफ्रिकाको विपरीत, फ्रान्सेली भाषा बोल्ने पश्चिम अफ्रिकामा पश्चिमी शैलीको लोकतन्त्र मजबुत हुनसकेको छैन ।

अब्राहम केन भन्छन्, त्यहाँ एउटा भावना छ- फ्रान्सेलीहरू सधैं सत्तामा भएकाहरुको समर्थनमा रहे चाहे तिनीहरू लोकप्रिय हुन वा नहुन । त्यहाँ सधैं फ्रान्स र सरकारको बीचमा धेरै बलियो सम्बन्ध रहदै आएको छ। बरु त्यहाँका सरकार आफ्नै नागरिकहरू प्रति त्यति मित्रवत छैनन । उनका अनुसार त्यही क्रोध लोकतान्त्रिक रूपमा निर्वाचित फ्रान्स समर्थित सरकारहरू विरुद्ध फुट्छ र त्यो सैन्य हस्तक्षेपमा परिणत हुन्छ।

नाइजरमा हजारौं मानिसले राष्ट्रपति मोहम्मद बजोमको सरकारलाई हटाउने सेनाको समर्थनमा जुलुस निकाले र लोकतान्त्रिक रूपमा निर्वाचित सरकारप्रति आफ्नो असन्तुष्टि जनाए । नाइजेरियाली शासन विश्लेषक ओविग्वे इग्युगु भन्छन् – पूर्व फ्रान्सेली उपनिवेशहरूमा निर्वाचित नेताहरूले नागरिकहरूको जीवन सुधार गर्न आवश्यक कदमहरू चालेका छैनन्। यसैले यी लोकप्रिय विद्रोहहरू आउँदैछन्। यी सबै जनवादी विद्रोहहरू हुन्, हामीले यो कुरा खुलेर भन्नु पर्छ ।

ओविग्वे इगुगुका अनुसार यदि मानिसहरूले प्रजातान्त्रिक रूपमा निर्वाचित सरकारहरूको फाइदा देख्दैनन् भने, संकटको समयमा उनीहरूलाई थोरै मात्र समर्थन हुनेछ। केही परिवर्तन नहुने अवस्थामा मानिसहरूले किन मतदान गर्ने ? तिनीहरूका लागि, यी विद्रोहहरू प्रणालीलाई हल्लाउने एउटा विधि हो र यसले राम्रो परिणाम ल्याउन सक्छ भन्ने आशा पनि जगाउँछ । यद्यपि इग्युगुले सैन्य नेतृत्वको आगमनले पनि स्थितिमा भने खासै परिवर्तन नभएको बताए ।

पश्चिम अफ्रिकी मामिलाहरूमा रिपोर्टिङ गर्ने स्वतन्त्र पत्रकार ब्राम पोस्टहुमसले यो कुरालाई अझ प्रत्यक्ष रूपमा व्यक्त गरेका छन्। उनी भन्छन् – यी विद्रोहहरूले स्पष्ट रूपमा के प्रतिबिम्बित गरेका छन भने पश्चिमी शैलीको लोकतन्त्र, कम्तिमा साहेल क्षेत्रमा पूर्ण रूपमा असफल भएको छ। त्यहाँ सत्ताधारी राजनीतिक वर्ग बीच मै चलेको संघर्षका कारण पनि विद्रोहको स्थिति उत्पन्न भएको छ ।

नाइजरमा आफ्नो सरकारको पतन हुनु अघि अपदस्थ राष्ट्रपति बाजोमले वर्तमान विद्रोहको नेतालाई बर्खास्त गर्ने योजना बनाएको बताइएको छ।

बुर्किना फासोका सैनिकहरूबीचको असहमतिले अर्को विद्रोह पनि निम्त्यायो। त्यसअघि सन् २०२२ मा भएको विद्रोहमा सेनाले राष्ट्रपति रोचे काबोरलाई पदच्युत गरेको थियो।

गरिबीको अन्तहिन चक्र

केही विज्ञहरूले धेरै पुरानो फ्रान्सेली उपनिवेशहरूमा भर्खरै भएका विद्रोहको कारण दीर्घकालीन गरिबी भएको बताएका छन् ।

२०२० मा सीएफएले फ्रान्क मुद्रा समाप्त गर्ने बहुप्रतीक्षित बिल स्वीकृत भयो। यो पश्चिम अफ्रिकी मुद्रामा फ्रान्सेली ट्रेजरीको नियन्त्रण थियो। यो परिवर्तन आउन ७५ वर्ष लाग्यो। फ्रान्सले यी देशहरूको प्राकृतिक स्रोतको दोहन गरेको आरोप पनि छ । सरकार स्थानीय जनताको दैनिक आर्थिक समस्या समाधान गर्न नै संघर्ष गरिरहेको छ ।

पोस्टहुमस भन्छन् – बढ्दो आक्रोशको बीचमा नागरिकहरूले प्रायः लोकतान्त्रिक प्रक्रियाहरूमा विश्वास र धैर्य गुमाउँछन्। उनी भन्छन्, लोकतन्त्रले जनताको कुनै पनि आधारभूत समस्याको समाधान गरेको छैन, चाहे त्यो हिंसा होस् वा गरिबी होस् वा आर्थिक अवसरको अभाव होस्। यस्तो अवस्थामा सैन्य बिद्रोहिहरु जनतालाई यी समस्याहरू समाधान गर्न सक्छौं भन्ने विश्वास दिलाउन सफल हुन्छन्।

प्रभावहीन नागरिक समुदाय र मिडिया

इमानुएल बेन्साहको चिन्ता त्यहाँ विकाससँग सम्बन्धित चुनौतिहरूको सामना गर्न लचिलो र ठोस प्रशासनिक प्रणाली तथा संस्थाको पूर्ण विकास हुन नसक्नु हो ।

यदि तपाईंले घाना, नाइजेरिया, गाम्बिया, लाइबेरिया, सिएरा लियोन जस्ता देशलाई हेर्नुभयो भने तिनीहरू जतिसुकै गरिब भए पनि त्यहाँ एउटा नागरिक समाज सक्रिय रूपमा काम गरिरहेको पाउनु हुन्छ र त्यहाँको मिडिया जीवन्त छ जसले अधिकारीहरूलाई जवाफदेही बनाउन खोजिरहेको छ।

वेन्साह भन्छन् – अंग्रेजी बोल्ने अफ्रिकाले विभिन्न आवाजहरू हाइलाइट गर्न व्यापक रूपमा काम गर्यो तर यो फ्रान्सेली-भाषी अफ्रिकामा हुन सक्दैन। त्यहाँ सधैं चुनौतीहरू छन् किनभने सबैभन्दा लामो समयका लागि धेरै चीजहरूको निर्णय फ्रान्सले गरेको थियो, जसले स्थानीय नागरिक समाजलाई फस्टाउने मौका दिएन।
सहेल क्षेत्रमा असुरक्षा

अफ्रिकाका धेरैजसो भूतपूर्व फ्रान्सेली उपनिवेशहरूमा बिग्रिएको सुरक्षा अवस्थाले बुर्किना फासो, गिनी, नाइजर र मालीमा हालैका विद्रोहहरूलाई पनि उत्तेजित गरेको छ। साहेल क्षेत्र मालीदेखि सुरु भएर सन् २०१२ देखि आक्रमणको निशाना बनेको छ। २०१५ मा यो बुर्किना फासो र नाइजरमा फैलियो र आज गिनीको खाडी राज्यहरू छिटपुट आक्रमणहरूको सामना गरिरहेका छन्।

संयुक्त राष्ट्रसंघका अनुसार सहेलमा बढ्दो असुरक्षाले विश्वव्यापी खतरा खडा गरेको छ किनभने त्यहाँ मानव अधिकारको अवस्था बिग्रँदै गएको छ र हजारौं मानिसहरू आफ्नो घर छोडेर भागेका छन्। फ्रान्स लगायत पश्चिमी देशहरूले यस क्षेत्रको असुरक्षाको सामना गर्ने असफल प्रयास गरे। माली र बुर्किना फासोमा सैन्य कारबाही पछि उनिहरु लाइ देश छोड्न भनिएको छ। पश्चिम अफ्रिकी राज्यहरूको आर्थिक समुदाय, ECOWAS (पश्चिम अफ्रिकी राज्यहरूको आर्थिक समुदाय) माथि विद्रोहको यो लहर रोक्ने दबाबमा छ।

प्रतिक्रिया