बुधबार, वैशाख १०, २०८२

२३ वर्ष पछि पोखरामा बाघजात्रा

सुनिल उलक २०८० भदौ १८ गते ९:१२

२३ वर्ष पछि हुन गइरहेको बाघ जात्राको तैयारी पुरा भएको छ । यस बाघ जात्राका लागि सम्पूर्ण पोखरेली निकै उत्सुकता तथा उत्साहका साथ प्रतीक्षामा छन् ।

आज भदौ १८ गते देखि २० गतेसम्म बाघजात्राले सम्पूर्ण पोखरेलीलाई मनोरञ्जन गराउनेमा हामी बिश्वस्त छौ । बाघजात्रा आफैमा जात्राहरुको पनि जात्रा भएको हुँदा यहाँ धेरै किसिमका जात्राहरु एक साथ प्रदर्शन हुनेछ ।

बाघजात्रामा सबैभन्दा अगाडि कुमारी रहनेछ । यस पछि ताहामचा, धिमेबाजा, घोडानाच, सेनापति, प्रधानमन्त्री, राजा, रानी, दायाँबायाँ सुरक्षागार्ड, घोडचढी रिसल्लाहरु, झ्यासी न्यासीका रुपमा हतियारधारी शिकारीहरु, उहिलेका सैनिकका रुपमा गुरुज्यूका पल्टनका सैनिकहरु, सबैभन्दा आकर्षणका रुपमा रहेका बाघ तथा बाघको शिकारका लागि चारै तर्फबाट घेर्नका लागि हातमा बाँस बोकेका गाउँलेका रुपमा ढेेकेग्वाराहरु पनि रहनेछन् ।

यस जात्रामा सशस्त्र प्रहरी कालिका गणका तर्फबाट पोशाकमा केही जवानहरु रहनेछन् भने नेपाली सेनाका जवानहरु पनि सहभागी रहनेछ । साथै राष्ट्रिय सेवा दलका तालिम प्राप्त केही स्वयंसेवक भाइबहिनीहरु पनि एनसिसि एलुमनाई एसोसिएशनका गण्डकी प्रदेशका निर्देशक उर्मिला श्रेष्ठको नेतृत्वमा सहभागी रहनेछ ।

यस जात्राको बिशेष आकर्षण भक्तपुरको प्रख्यात घिन्ताघिसि जात्रा रहेनछ । यस जात्राका लागि भक्तपुर वडा नं ३ मा रहेको घट्खा दाफा भजन खलःका नृत्य तथा बाजा टोलिका करिव ५० सदस्यहरुको नेतृत्व भक्तपुरका नगरपालिकाका उपप्रमुख रजनी जोशीले गर्नेछन ।

साथै टोलिको ब्यबस्थापन भक्तपुर नगरपालिका वडा नं ५ का अध्यक्ष योगेन्द्रमान बिजुक्छेबाट हुनेछ । भदौ १९ गते सो टोली पोखरा आइपुग्नेछ । सो टोलिले भदौ २० गते पोखरामा समापन हुने बाघजात्रा कार्यक्रममा प्रदर्शन गरेपछि भदौ २१ गते बन्दिपुरमा पनि नाचको प्रदर्शन गर्नेछन् । यसका लागि भक्तपुर नगरपालिकाबाट सांस्कृतिक आदानप्रदान अन्तर्गत सम्पूर्ण व्यवस्थापन गर्नेछन्  ।

तीन दिनको लागि पोखराका तीन क्षेत्र तय भएको छ । पहिलो दिन बाघजात्राको शुभारम्भ पोखरा भीमसेन टोलमा रहेको नेवाः छेँबाट हुनेछ । बिहान १०ः३० बजे पोखरा महानगरपालिकाका नगरप्रमुख धनराज आचार्यबाट पानसमा बत्ति बालेर जात्राको शुभारम्भ गर्नेछन् ।

छोटो शुभारम्भ कार्यक्रम पश्चात जात्रा भीमसेन मन्दिरमा रहेको नासः द्यको परिक्रमा गरेर भैरवटोल, मोहरियाटोल, बागबजार हुँदै बालमन्दिर, ३ नं वडा कार्यालय, तेर्सापट्टी, नालामुख चोक हुँदै नेवाः छेँ मा पुगेर साँझ ५ बजे समाप्त हुनेछ । यस बिचमा बाटो बाटोमा बिभिन्न टोल तथा मिसा पुचहरुबाट पानी पिलाउने कार्य हुनेछ भने आयोजकका तर्फबाट खानाको ब्यबस्था पनि गरिनेछ ।

भोलिपल्ट पून ११ बजे जात्रा नेवाः छेँबाट शुरु भइ गणेशटोल, रामकृष्णटोल, बगालेटोल, सिमलचौर हुँदै सृजनाचोकबाट सभागृहचोक हुँदै पृथ्वीचोकमा पुग्नेछ । पृथ्वीचोकबाट जात्रा नयाँबजार, महेन्द्रपुल, तेर्सापट्टी, नालामुखचोक हुँदै साँझ ५ बजे नेवाः छेँमा समापन हुनेछ । जात्राको यात्रा क्रममा बाटो बाटोमा बिभिन्न टोल तथा मिसा पुचहरुबाट पानी पिलाउने कार्य हुनेछ भने आयोजकका तर्फबाट खानाको ब्यबस्था पनि गरिनेछ ।

तेश्रो दिन अर्थात भदौ २० गते जात्राको मुख्य आकर्षण बाघ मार्ने कार्यक्रम रहनेछ । यस दिन पनि सधै झै बिहान ११ बजे नेवाः छेँबाट जात्राको यात्रा शुरु हुनेछ । यस दिन नालामुखचोक, तेर्सापट्टी, महेन्द्रपुल हुँदै रानीपौवा, माटेपानी, गौडाको मुख, राधाकृष्णचोक हुँदै पोखरा रङ्गशालामा पुग्नेछ । यहाँ छोटो अनौपचारिक कार्यक्रम पश्चात जात्रालाई स्वागत गरिनेछ । यहाँ बिभिन्न नाच तथा झाँकीहरुको पश्चात बाघ मार्ने कार्य हुनेछ ।

बाघ मार्ने जात्रा जंगलमा आफ्नो जीवन सहज रुपले बिताइरहेको बाघको हत्या गर्ने होइन । यस जात्राको कथा अनुसार जंगली हिंसक जनावर बाघले शहर प्रवेश गरेर जनताका घरपालुवा जनावरहरुका साथ साथै मानिसहरुलाई समेत आक्रमण गरि मार्न थालेपछि जनताद्वारा राजालाई नरभक्षि बाघ मारिदिन अनुरोध गरिए पछि राजाले आफ्नो सम्पूर्ण राज्यशक्तिका रुपमा प्रधानमन्त्री, सेना प्रमुख, सेना, शिकारीहरु, जनताहरु तथा स्वयं राजा नै उपस्थित भएर राजाले चारैतिरबाट घेरिएर रहेको बाघलाई बन्दुकले मार्ने कार्य हुने गर्दछ ।

नरभक्षि बाघलाई मार्न अहिले पनि कानुनले वर्जित गरेको छैन । यसर्थ बाघ संरक्षणमा लागिरहेको अहिलेको विश्वमा बाघजात्राले गलत सन्देश दिन खोजेको होइन । यसले हिंसक भइ नरभक्षि भएको बाघलाई मार्ने काम भएको देखाइन्छ । साथै यस जात्राले गलत उद्धेश्य वा गलत कार्यलाई सबै मिलेर निर्मुल पार्नुपर्दछ भन्ने सन्देश पनि दिने गर्दछ ।

यस जात्राका लागि बिशेष रुपले पोखरा महागरपालिकाका प्रमुख धनराज आचार्यज्यूलाई धन्यवाद दिन चाहन्छौ । ‘जात्रा निकाल्नु पोखरा नगरपालिकाले आबश्यक सहयोग गर्नेछ’ भन्ने नगरप्रमुखको आश्वासन पछि नै जात्राले गति लिएको थियो । साथै पोखरा नगरपालिका अन्तगर्तका विभिन्न वडा अध्यक्षहरुको सहयोग तथा सहकार्यले पनि जात्रा निकाल्नका लागि निकै हौसला प्रदान गरेको छ ।

नेवाः खल कास्की तथा यस अन्तगर्तका भातृसंगठनहरु कचा खलहरु, ल्याम्ह पुचहरु, मिसा पुचहरु तथा नेवाः पत्रकार पुचको सहयोग रहेको छ । नेपाली सेनाका तर्फबाट जगेडा पोशाकहरु उपलब्ध गरिदिएका छन् भने केही सैनिक जवानहरु पनि साथ रहनेछ । त्यस्तै सशस्त्र प्रहरीको पनि साथ रहनेछ । यस बाहेक जिल्ला प्रशासन कार्यालय कास्की तथा प्रमुख जिल्ला अधिकारीज्यूको साथ र सहयोगलाई पनि हामीले प्रेरणाका लागि लिएका छौ । यसका साथै यस क्षेत्रका सम्पूर्ण सुरक्षा निकाय तथा ट्राफिक कार्यालयको पनि सहयोग रहनेछ ।

प्रतिक्रिया