पश्चिम तराईमा तिनछठी पर्व मनाइँदै

लुम्बिनी । आज पश्चिम तराईमा तिनछठी पर्व मनाइँदैछ । व्रतालु महिलाहरूले घाँसे कुशको पातमा गाँठो पारी पूजापाठ गर्दै छोराको दीर्घायु र स्वास्थ्यलाभको कामनासहित यो पर्व मनाइरहेका छन् ।
यो पर्वलाइ ‘हरछठ’ वा ‘ललहीछठ’ पनि भन्ने गरिन्छ । प्रत्येक वर्ष भाद्र कृष्णपक्ष ‘षष्ठी’ तिथिका दिन यो पर्व मनाइन्छ । यस दिन गाउँटोलका व्रतालुहरू एकै ठाउँमा भेला भई घाँसे कुशमा गाँठो पारी पूजाआराधना गर्ने गर्छन् ।
हिन्दू परम्पराअनुसार पलास र महुवाको पातसहित कहिल्यै नजोतेको खेतमा उब्जेको तिन्नी चामल, महुवा र दही राखी पूजापाठ गरिन्छ । यो व्रत आमाले छोराको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै बस्ने गर्छन् । व्रतालु महिलाहरू दिनभरि निर्जल व्रत बसी तीनछठी माताको महिमासहितका गीतहरू गाउने तथा तीनछठी माताका कथाहरू भन्ने र सुन्ने गर्छन् ।
व्रतमा प्राकृतिक फलफूल र पकवानहरु दही, महुवा, साग र तिन्नीको चामलको भातलगायतका सामाग्री र फलफूल प्रसाद को रुपमा ग्रहण गर्ने चलन रहेको छ । यो व्रतमा महुवाको दातुनले दाँत सफा गरिन्छ ।
यसै तिथिमा भगवान श्रीकृष्णका दाजु बलरामको जन्मोत्सव पनि मनाउने परम्परा रहेकोले खेतमा उब्जिएको वा हलो जोतेर उब्जाएको कुनै पनि अन्न खानुहुँदैन भन्ने मान्यता छ । हलो कृष्णका दाजु बलरामको अस्त्र भएकाले त्यसो गरिने गरेको पण्डित अजयकुमार मिश्रको भनाइ छ ।
‘व्रतालुहरूका लागि गाइको दूध, दही, घिउ वा त्यसबाट बनेका कुनै पनि परिकार खान मनाही छ,’ पण्डित मिश्रले भन्नुभयो, ‘भैंसीको दूध, घिउ र दही प्रयोग गर्नुपर्छ । व्रतालु महिलाहरू बेलुका तालतलैयामा उब्जिएको केरमुआ सागरतिन्नीको चामल र पचहरको चावल खान्छन् । यसै गर्नुपर्ने परम्परा चल्दै आएको छ ।’ –INS
प्रतिक्रिया