बुधबार, वैशाख १०, २०८२

एक सय १५ वर्ष पुरानो मन्दिर पुनःनिर्माण

नेपालखोज २०८० भदौ २० गते १८:४१

सिन्धुपाल्चोक । पूर्वसभामुख अग्नीप्रसाद सापकोटाले चौतारा पुरानो बजारस्थित एक सय १५ वर्ष पुरानो ऐतिहासिक एवं पुरातात्विक महत्त्व बोकेको कृष्ण मन्दिरको उद्घाटन गरेका छन् ।

नेकपा(माओवादी केन्द्र)का उपाध्यक्षसमेत रहेका सापकोटाले आज एक कार्यक्रमकाबीच श्रीकृष्ण जन्माष्टमीको दिन पारेर उक्त मन्दिरको उद्घाटन गरेका हुन् । उनले कृष्ण मन्दिर जस्तै पुरातत्व महत्त्व बोकेका मन्दिरको खोज अनुसन्धान गरी यस्ता मन्दिरहरूलाई संरक्षण, सम्वर्द्धन गर्नुपर्ने बताए ।

संस्कृति आत्मा हो भन्दै परम्परा संस्कृतिलाई जोगाइराख्नुपर्ने उनको भनाइ छ । आआफ्नै परम्परा संस्कृति छन् तिनीहरूलाई जोगाइ युवापुस्तालाई बोध गराई नैतिक शिक्षा दिनु आजको आवश्यकता रहेको नेता सापकोटाले बताए ।

यो मन्दिर भूकम्प गएको झन्डै सात वर्षपछि मन्दिर पुनःनिर्माण भएको थियो । पुरातत्व विभाग काठमाडौंद्वारा दुई करोड लागतमा मन्दिर बनेको हो । मन्दिर निर्माणमा प्रयोग गर्ने सामग्री र मन्दिरको शैली पुरानो डिजाइनकै छ ।

प्यागोडा शैलीको मन्दिर रहेको छ । हरेक कृष्ण जन्माष्टमीका अवसरमा यहाँ दुई दिन भव्य मेला लाग्दै आएको छ । यस वर्ष पनि बिहानैदेखि मन्दिरमा भक्तजनको घुइँचो लागेको कृष्ण मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

कुनैबेला हाल मन्दिर रहेको स्थानमा सिस्नुको घारी रहेको थियो । सो स्थानबाट मध्यरातमा बाँसुरीको धुनको आवाज आउने र धुन सुनेर स्थानीय सो स्थानमा जाँदा धुन आफसेआफ हराउने गर्थ्यो। मध्यरातमा बाँसुरीको धुनको आवाज आएका कारण सोही स्थानमा कृष्णको मन्दिर बनाइ पूजाआजा गर्दै आएको जनश्रुती पाइन्छ ।

प्रतिक्रिया