बिहीबार, वैशाख ११, २०८२

निपाह भाइरस कसरी सर्छ ? रोकथामका उपायहरु !

नेपालखोज २०८० भदौ २९ गते ६:१८

काठमाडौं । निपाह भाइरसले भारतको केरलामा मानिसहरूको चिन्ता बढाएको छ। राज्यको स्वास्थ्य विभागले यसै साता कोझिकोड जिल्लामा दुई जनाको ‘अप्राकृतिक’ मृत्यु भएपछि निपाह भाइरससँग सम्बन्धित अलर्ट जारी गरेको छ। विभागले एक विज्ञप्ति जारी गर्दै राज्यको स्वास्थ्य मन्त्री वीणा जर्जले उच्चस्तरीय बैठक गरी स्थितिको समीक्षा गरेको जनाएको छ।

निपाह भाइरस के हो ?

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार निपाह भाइरस पहिलो पटक सन् १९९८ मा मलेसियाको कम्पुङ सुङ्गाई निपाहमा फेला परेको थियो । यहीँबाट यसको नाम निपाह भाइरस भयो। त्यतीबेला केही सुँगुर किसानलाई यसको ज्वरो आएको थियो। त्यसैले सुँगुरलाई यो गम्भीर रोगको वाहक भनिन्छ । सन् १९९९ मा सिंगापुरमा पनि यसको पहिचान भएको थियो । यसले पहिले सुँगुर, चमेरो वा अन्य जीवहरूलाई असर गर्छ। त्यसपछि यसको सम्पर्कमा आउने मानिसलाई पनि यसले संक्रमण गर्छ ।

कसरी सर्छ निपाह भाइरस ?

निपाह भाइरस संक्रमित चमेरो, संक्रमित सुँगुर वा अन्य एनआईभी संक्रमित व्यक्तिहरूसँग प्रत्यक्ष सम्पर्कबाट मानिसमा सर्छ , जुन गम्भीर संक्रमणको श्रेणीमा पर्दछ। यो संक्रमण फ्रुट ब्याट वा फ्लाइङ फक्सबाट पनि सर्छ, जुन हेन्द्रा र नेपाह भाइरसको प्राकृतिक भण्डार हो। यो भाइरस चमेरोको पिसाब, दिसा, र्याल र डिलिवरी फ्लुइडमा हुन्छ।

निपाह भाइरस संक्रमणका लक्षण ?

-निपाह भाइरस संक्रमणको प्रारम्भिक चरणमा सास फेर्न समस्या हुन्छ। आधा जसो बिरामीलाई न्यूरोलोजिकल समस्या पनि हुन्छ । निपाह भाइरसबाट संक्रमितलाई ज्वरो आउने, टाउको दुख्ने, मानसिक भ्रम, बान्ता र बेहोस हुने समस्या हुन्छ । मानिसमा, निपाह भाइरस इन्सेफलाइटिससँग सम्बन्धित छ, जसले मस्तिष्कमा सूजन निम्त्याउँछ।

– संक्रमणको लक्षण देखिन सामान्यतया पाँचदेखि चौध दिन लाग्छ।

– संक्रमण बढेपछि बिरामी कोमामा जान सक्छ र त्यसपछि व्यक्तिको मृत्यु पनि हुन सक्छ ।

निपाह भाइरस संक्रमणको उपचार र रोकथामका उपायहरू

निपाह भाइरस संक्रमणको उपचारका लागि कुनै खोप उपलब्ध छैन। यद्यपि यो रोगबाट पीडित मानिसहरूको उपचार गर्ने उपाय छ।

-चमेरोले दूषित तुल्याएक‍ो काँचो फलफूल सेवन गर्नु हुँदैन । राम्रोसँग पकाएको, सफा खानेकुरा खानुपर्छ ।

-यो भाइरसबाट बच्न फलफूल, विशेषगरी खजूर खानु हुँदैन ।

– रुखबाट झरेको फलफूल खानु हुँदैन ।

-सुँगुर र सुँगुरको हेरचाह गर्ने मानिसहरूको सम्पर्कबाट जोगिन पर्छ।

-संक्रमित विरामीसँग दूरी कायम गर्ने ।

-शौचालयमा सामान्यतया प्रयोग हुने चीजहरू विशेष गरी बाल्टिन र मगहरू, सफा राख्नुपर्छ ।

-आफ्ना घरपालुवा जनावरलाई संक्रमित जनावरहरू, संक्रमित क्षेत्रहरू वा संक्रमित मानिसहरूबाट टाढा राख्नु पर्छ। एनआईभी संक्रमित बिरामीहरूको उपचार गर्ने मेडिकल अफिसरहरूले गाउन, क्याप, मास्क, पन्जा लगाउने र हात धुने जस्ता उपयुक्त सावधानीहरू अपनाउनु पर्छ।

-संक्रमणको व्यक्तिगत प्रसारणबाट जोगिन यात्रा गर्दा वा सार्वजनिक स्थानमा काम गर्दा सावधानी अपनाउँदै N95 मास्क प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया