बिहीबार, वैशाख ११, २०८२

विश्व मुटु दिवस : बचाउन सकिन्छ मुटु

नेपालखोज २०८० असोज १२ गते १४:५८

चितवन । खानपान र जीवनशैलीमा ध्यान दिनसकेमा मुटुलाई रोगबाट बचाउन सकिने विज्ञ चिकित्सकले बताएका छन् । पछिल्लो समय मानिसहरुको विलासी जीवनशैलीका कारण मुटुरोगको समस्या बढ्दै गएको उनीहरुको भनाइ छ ।

भरतपुर अस्पतालका मुटुरोग विशेषज्ञ डा. मणि गौतम परिवारका सदस्यलाई मुटुसँग सम्बन्धित रोग भए-नभएको ख्याल गर्नुपर्ने बताए । उच्च रक्तचाप, मधुमेह, मोटोपना भएका व्यक्तिलाई मुटुरोग हुने जोखिम बढी हुने उनको भनाइ छ ।

उनले भने, ‘जोखिमका तत्व पहिचान गरेर मुटुरोगबाट सुरक्षित रहन सकिन्छ ।’ धूमपान, मद्यपानलगायतका बानी व्यहोरामा सुधार गर्नुपर्ने उनको सुझाव छ । शारीरिक व्यायाममा ध्यान दिन, मोटोपना घटाउन, तनाव कम गर्न, मधुमेह, कोलेस्ट्रोल र उच्च रक्तचाप भएमा त्यसको नियमित औषधि सेवन गरेर व्यवस्थापन गर्न उनले सुझाव दिए ।

मुटुको बाथको रोग, जन्मजात रोगहरु छन् भने त्यहीअनुसार व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘समयमा ध्यान दिनसके मुटुरोग लाग्नबाट बच्न सकिन्छ, लागिसकेपछि पनि जोगिन सकिन्छ ।’

चितवन मुटु अस्पतालका मुटु रोग विशेषज्ञ डा. शङ्कर लौडारी मुटुरोग लाग्नुभन्दा पहिले नै सर्तक हुन सक्यौँ भने मुटुरोगबाट बच्न सकिने बताए । उनले भने, ‘धूमपान, अत्यधिक मद्यपान लागुऔषधजस्ता कुलत छन् भने बन्द गर्नुपर्छ, यस्ता वस्तुबाट टाढा बस्दा एकदेखि दुई वर्षमा पहिलेकै अवस्थामा फर्कन सकिन्छ, तर रोग धेरै नै बढिसकेको छ भने पूर्ववतः अवस्थामा फर्कन गाह्रो पर्छ ।’

चिकित्सकको सल्लाहबिना अनावश्यक औषधि धेरै प्रयोग र शारीरिक व्यायामको अभावका कारण मुटु रोग बढ्ने उनको भनाइ छ । उनले भने, ‘फलफूल, तरकारी, प्रोटिनको मात्रा अलि बढी खाने, कार्बोहाइडेट मात्रा कम गर्ने, चिल्लो खानेकुरा कम गर्ने, एन्टिअक्सिडेन्टल चीजहरु धेरै खाने, आवश्यक परेको बेला भिटामिन पनि खान सकिन्छ, यी खानेकुराले मुटुलाई फाइदा गर्छ ।’

चिकित्सकले मुटुरोगको लक्षण देखिनासाथ चिकित्सकसँग परामर्श गर्न सुझाव दिएका छन् । केही वर्षअघिसम्म राजधानी केन्द्रित मुटुको उपचार अहिले चितवनसहित मोफसलका जिल्लामा उपलब्ध छन् । हृदयाघातजस्ता समस्या आउँदा तत्काल उपचारका लागि क्याथल्याबसहितको सुविधा पनि उपलब्ध छ । सहरमा केन्द्रित यो रोग पछिल्ला वर्षमा ग्रामीण क्षेत्रमा समेत पुगेको छ ।

प्रतिक्रिया