सोह्र श्राद्धमा कसरी सम्झने पितृलाई ?

गत साउन महिनामा मलमास परेकाले यो वर्षको सोह्र स्राद्धको थालनी ढीला गरि गत शनिबारदेखि प्रारम्भ भएको छ । सोह्र दिनको विशेष अवधिमा श्राद्ध गरिने कर्म शुक्रबारदेखि नै प्रारम्भ भएको हो ।
सोह्र श्राद्धका क्रममा हाम्रा पूर्वज पृथ्वीमा सुक्ष्म रुपमा आउँछन् र उनीहरुको नामले गरिने तर्पणलाई स्वीकार गर्छन् । यसले पितृको आत्मालाई शान्ति प्राप्त हुन्छ र घरमा सुख–शान्ति कायम रहन्छ । पितृपक्ष भाद्रपद पूणिमाबाट प्रारम्भ भएर आश्विन मासको औशीँसम्म रहन्छ । अश्विन महिनाको कृष्ण पक्षमा नै पितृपक्ष पर्छ ।
सोह्र श्राद्धमा हामी आफ्ना पितृलाई नियमित रुपले जल अर्पित गर्नुपर्छ । यो जल दक्षिण दिशातर्फ मुख पारेर अर्पित गर्नुपर्छ । त्यसरी अर्पण गरिने जलमा कालो तिल मिसाउने र हातमा कुश राख्नुपर्छ । जुन दिन पूर्वजको देहान्त भएको तिथि हुन्छ, त्यहि दिन श्राद्ध गरेर अन्न र वस्त्र पनि दान गर्नुपर्छ । यस दिन कुनै निर्धनलाई भोजन गराउनु शुभ मानिन्छ ।
पितृपक्षमा तर्पण विधि
प्रतिदिन सूर्योदयभन्दा पहिला एउटा लोटामा थोरै गंगा जल, बाँकी सादा जल भर्नुपर्छ, लोटामा दुध, कालो तील, जौ हालेर कुशसहित जल जढाउनुपर्छ ।
पितृ पक्षमा यदि कुनै जनावर अथवा पन्छि घर आएका छन् भने तीनिहरुलाई भोजन गराउनुपर्छ । पूर्वज यिनीहरुको रुपमा तपाईँसँग भेट्न आउँछन् । पितृ पक्षमा ब्राह्मणलाई भोजन गराउँदा पूण्य मिल्छ ।
आफ्ना पितृहरुको तिथिअनुसार श्राद्ध गरेपछि पितृ प्रसन्न भएर श्राद्ध गर्ने परिवारमा उनीहरुको सन्तानको आयु वृद्धि भएर जान्छ भने धनधान्य सन्तान सुख मिल्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ । महर्षि याज्ञवल्क्यले आफ्नो याज्ञवल्क्य स्मृतिमा लेखेका छन्–‘पितृहरु श्राद्धबाट नै तृप्त हुन्छन् र तृप्त आत्माले दिएको आशिर्वादले हाम्रो आयु, धन, विद्या, स्वर्ग, मोक्ष, राज्य एवं अन्य सबै सुखभोग गर्न पाउने छन् ।’
श्राद्ध चन्द्रिका नामक पुस्तकमा कर्म पुराणको मध्य भागमा श्राद्धभन्दा ठूलो अरु कुनै पनि कुराहरुबाट नहुने उल्लेख गरिएको छ । त्यसैले हरेक मनुष्यले जसरी भए पनि श्राद्धको कर्म गर्नु नै पर्ने कुरा शास्त्रले अह्राएको छ ।
स्कन्दपुराणको नगरखण्डमा के बताइएको छ भने ‘श्राद्धमा प्रयोग भएका कुनै पनि वस्तुहरु व्यर्थ नजाने भएकोले श्राद्ध अवश्य गर्नुपर्छ ।’
हाम्रो धर्मशास्त्रमा श्राद्धसम्बन्धी कुराहरु यति धेरै विस्तारमा बताइएको छ कि श्राद्धमा गरिने सानोभन्दा सानो कुराको सूक्ष्म मीमांसा र समीक्षा गरिएको छ । श्राद्ध माता, पिता एवं अन्य पूर्वजहरुको निमित्त श्रद्धापूर्वक गरिने दान नै श्राद्ध हो ।
प्रतिक्रिया