बिहीबार, वैशाख ११, २०८२

दुर्घटना न्यूनीकरणका लागि चालक र सहचालकको स्वास्थ्य जाँच

नेपालखोज २०८० असोज १५ गते १८:२९

काठमाडौं । सडकमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि गोँगबुस्थित नयाँ बसापार्कमा चालक र सहचालकको स्वास्थ्य जाँच गरिएको छ ।

ट्राफिक सप्ताह कार्यक्रमअन्तर्गत ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका आयोजना तथा लोत्से बहुउद्देश्यीय प्रालि नयाँ बसपार्कको सहयोगमा आज सार्वजनिक सवारी साधनका चालक, सहचालक र कर्मचारीलाई स्वास्थ्य जाँच गरिएको हो ।

कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले सार्वजनिक सवारी साधनमा कार्यरत कर्मचारीलाई स्वास्थ्य राख्नका लागि ट्राफिक सप्ताहअन्तर्गत स्वास्थ्य जाँचको कार्यक्रम राखिएको बताए । उनले सवारी चालकलाई स्वस्थ्य राख्नसके सवारी दुर्घटनामा कमी आउने विश्वास व्यक्त गरे ।

काठमाडौं महानगरपालिका–२६ का वडाअध्यक्ष ख्यामराज तिवारीले चालक जति अनुसाशित भए त्यति नै ट्राफिक व्यवस्थापनमा सहज हुने बताए । उनले ट्राफिक सप्ताहमार्फत चालक र सहचालकलाई सचेतना दिनु जरुरी रहेको बताए ।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतम, कोषाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, सहकोषाध्यक्ष अर्जुन गौतम, बागमती प्रदेश संयोजक सुवन गिरीलगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा तिलगङ्गा आँखा अस्पतालले आँखा जाँच, ओम चावहिल डेन्टल अस्पतालले दाँतको जाँच र सिल्भर लाइन अस्पताल बालाजुको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य जाँच गरेको थियो ।

प्रतिक्रिया