पानीको बहाव घटेसँगै सतीघाटमा सञ्चालित फेरी सञ्चालनमा

टक्सार । भोजपुर र सङ्खुवासभा जोड्ने अरुण नदीमा सञ्चालित फेरी पुनः सञ्चालन भएको छ । भोजपुर उत्तर षडानन्द नगरपालिका–६ र सङ्खुवासभाको खाँदबारी नगरपालिका– ९ को सिमानामा पर्ने अरुण नदीको सतीघाटमा सञ्चालित फेरी पुनः सञ्चालन भएको हो ।
अरुण नदीमा पानीको बहाव कम भएसँगै बन्द रहेको फेरी पुनः सुरु भएको षडानन्दका प्रमुख प्रशासकीय अधिकृत विनोद भण्डारीले बताए ।
फेरी बन्द भएपछि जिल्लाको उत्तरी क्षेत्रबाट तराईका जिल्लाहरुमा आवतजावत गर्न त्यस क्षेत्रका नागरिकलाई समस्या हुँदै आइरहेको थियो । गत जेठबाट अरुण नदीमा सञ्चालित फेरी बन्द भएको थियो । फेरी बन्द भएका कारण तराईका जिल्लासम्म सहजरुपमा यातायातका साधन आवत जावतमा समस्या हुँदै आएको स्थानीय सौगात गौतमले बताए ।
अरुण नदीको बहाव पूरै नघटुन्जेलका लागि अहिले हलुका सवारी साधनमात्र फेरीमार्फत आवतजावत गरिने षडानन्द नगरपालिकाले जनाएको छ । नदीमा पक्की पुल बन्न नसक्दा पानीको बहाव बढेपछि फेरी सेवासमेत बन्द हुने अवस्था छ ।
प्रतिक्रिया