हालसम्म ३८ हजार ५९ जना डेङ्गुबाट सङ्क्रमित

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सन् २०२३ को सेप्टेम्बरसम्म डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या ३८ हजार ५९ जना पुगेको जनाएको छ ।
मन्त्रालय अन्तरगतको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुुसार हालसम्म ७६ जिल्लाका ३८ हजार ५९ जना डेङगुबाट सङ्क्रमित रहेको र २० जनाले ज्यान गुमाएका छन् ।
महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले डेङ्गुको सङ्क्रमण कायमै रहेको र जतिबेला पनि महामारी फैलन सक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् ।
हालसम्म कूल सङ्क्रमित सङ्ख्यामा प्रदेशअनुसार सबैभन्दा धेरै कोशी प्रदेशमा २३ हजार नौ सय पाँच जना (६२ दशमलव आठ प्रतिशत) सङ्क्रमित भएका छन् भने सबैभन्दा कम सङ्क्रमित प्रदेश कर्णाली एक सय २८ जना (शुन्य दशमलव ३ प्रतिशत) छन् ।
त्यस्तै मधेश प्रदेशमा पाँच सय ९० जना (एक दशमलव छ), बागमती प्रदेशमा चार हजार आठ सय ८३ जना (१२ दशमलव आठ प्रतिशत), गण्डकी प्रदेशमा छ हजार आठ सय १८ जना (१७ दशमलव नौ प्रतिशत), लुम्बिनी प्रदेशमा छ सय ५५ जना (१ दशमलव सात प्रतिशत) र सुदूरपश्चिम प्रदेशमा एक हजार ८० जना (दुई दशमलव आठ प्रतिशत) सङ्क्रमण देखिएको छ ।
प्रतिक्रिया