मानसिक स्वास्थ्य र भोजन

पेटको स्वास्थ्यले मनलाई पनि प्रभाव पार्छ । मानसिक स्वास्थ्यबारे छलफल चल्दा विज्ञ, औषधि र अस्पतालका सन्दर्भहरू मात्रै आउने गर्छन् । ‘मनको स्वास्थ्य भोजन र जीवनशैलीसँग पनि जोडिएको हुन्छ’ भन्नेबारे प्रायः अन्तर्क्रिया भएको पाइँदैन
एक वर्षअघि बेलायत बसेका बेला मानसिक स्वास्थ्य, भोजन र पोषणबारे तालिम लिएपछि मात्र मलाई कसरी पेटको स्वास्थ्यले मनको स्वास्थ्यमा असर पार्छ भनेर थाहा भयो ।
मानव शरीरका विभिन्न अंगमा खर्बौं कीटाणु ह आन्द्रा, भुँडी, फोक्सो आदिमा हुन्छन् । अध्ययनले भन्छ— आकाशगंगामा जति तारा छन्, त्यति सूक्ष्म जीवाणु त हाम्रो पेटमा मात्रै हुन्छन् ।
जीवाणुहरूले पेट र मस्तिष्कको संरचना र स्वास्थ्यमा पनि प्रभाव पार्छन् । धेरै तनाव हुँदा, दुःख हुँदा हाम्रो भोक नै मर्छ । हाम्रो दैनिक अनुभवले भन्छ— तनाव भयो, मानसिक पीडा भयो भने पेट बिग्रिन्छ । जस्तो— कुनै अति नजिकको मान्छेको मृत्यु हुँदा, परिवारको कोही धेरै बिरामी हुँदा हाम्रो भोकप्यास हराउँछ, खान मन लाग्दैन । जाँचका बेला तनाव भएर विद्यार्थीहरूलाई वाकवाक लाग्ने, खान मन नलाग्ने, पेट दुख्ने, घरीघरी शौच जान मन लाग्ने हुन्छ ।
आधुनिक चिकित्सा विज्ञानका जनक हिप्पोक््रयाटसले भनेका थिए, ‘धेरैजसो रोगको जरो पेटमा हुन्छ ।’ आधुनिक विज्ञान र आयुर्वेदले पनि पेटको समस्या भएपछि विभिन्न रोग उब्जिन्छन् भनेका छन् ।
पेटको वातावरणमा खराबी आए सम्पूर्ण शरीरसहित मस्तिष्कमा पनि समस्या पर्न सक्छ । यसको अर्थ मानसिक रोगीहरूलाई अन्य उपचार नगर्ने भन्ने चाहिँ होइन । मनले पेटमा प्रभाव पारे जस्तै पेटको स्वास्थ्यले मनलाई पनि प्रभाव पार्छ ।
अहिले त ‘मानसिक स्वास्थ्य र पोषण’ भनेर एउटा भिन्न विधा नै स्थापित भएको छ । हाम्रो पेट स्वस्थ भयो भने अर्थात् स्वस्थ खाना खायौं भने मानसिक स्वास्थ्यको उपचारमा पनि निकै सहज हुने गर्छ । पेट र मस्तिष्कबीच प्रगाढ सम्बन्ध भएकैले ‘पेटलाई दोस्रो मस्तिष्क’ मानिएको छ । यसबारे अध्ययन अझै गरिँदै छ ।
हामीले स्वस्थकर खाना खायौं भने पेटका खर्बौं जीवाणु–कीटाणु पनि स्वस्थ बन्छन् । अस्वस्थकर खाए अनि तिनै जीवाणु–कीटाणु अस्वस्थ हुन्छन् अनि हाम्रो मस्तिष्क, भावना, मनको उत्तर–चढावमा भूमिका खेल्छन् । अल्जाइमर, पार्किन्सन, चिन्ता, मानसिक अवसाद जस्ता समस्याहरूमा पनि पेटका जीवाणु–कीटाणुले भूमिका खेल्छन् भनेर वैज्ञानिकहरू त्यसबारे व्यावहारिक प्रयोग पनि गर्दै छन् ।
हाम्रो शरीरका आन्तरिक रसहरू (हर्मोन), सेराटोनिन पनि यस्ता तत्त्व हुन् जुन पेटमा पर्याप्त मात्रामा उत्पादन हुन्छन् । सेरोटोनिनले हाम्रो मस्तिष्कमा प्रभाव पारेर आनन्दको अनुभूति गराउँछ । सेराटोनिनको कमी भएपछि उदासीको समस्या बढ्छ ।
सेराटोनिन मस्तिष्कमा पनि उत्पन्न हुन्छ तर ७०–८० प्रतिशत त पेटमै बन्छ । मस्तिष्कको कार्य नियन्त्रण गर्ने तत्त्व उत्पन्न गर्ने पेट पनि त स्वस्थ हुनुपर्यो । स्वास्थ्य राम्रो रहन विभिन्न सूक्ष्म पोषण तत्व– लौहतत्व, क्याल्सियम, फाइबर, फोलिक एसिड, भिटामिन बी १२ आदिको ठूलो भूमिका हुन्छ । यी सबै तत्व हाम्रो भोजनमा नै पाइन्छ । स्वस्थकर खाना खाए सजिलै प्राप्त हुन्छ ।
नुन, चिनी बढी भएका खाना खाइरहनेलाई मधुमेह, उच्च रक्तचाप बढ्न सक्छ । यस्ता समस्याले मस्तिष्कलाई नकारात्मक असर पर्छ । स्वस्थकर खाना र व्यायाम, असल जीवनशैलीले यो समस्या कम गर्छ ।
अध्ययनले देखाएको छ कि मधुमेहको समस्या, उच्च रक्तचाप हुनेहरुलाई बिर्सने रोगले च्याप्ने बढी सम्भावना हुन्छ । स्वस्थकर खाना खाए मधुमेह र उच्च रक्तचापको सम्भावना कम हुन्छ । यदि यी समस्याहरु छन् भने पनि स्वस्थकर खाना खाएर यस्ता समस्या नियन्त्रण गर्न सकिन्छ । अर्थात् पेटको जीवाणु र कीटाणुलाई स्वस्थ राख्ने हो भने यस्ता समस्या न्यून गर्न सकिन्छ । अनि मानसिक स्वास्थ्यमा सकारात्मक असर पर्छ ।
भविष्यमा त मानसिक रोग विज्ञहरुले मानसिक रोगमा कस्तो पोषण दिने भन्ने पनि परामर्श दिने नै छन् । अहिलेदेखि नै तपाईं र हामीचाहिँ पेटको स्वास्थ्य राम्रो राखेर तनावरहित भए राम्रो ।
प्रतिक्रिया